काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले आन्दोलनरत राहत शिक्षक तथा विद्यालय कर्मचारीमाथि भएको प्रहरी दमनको निन्दा एवं भर्त्सना गर्दै राज्यलाई तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेको छ ।

संगठनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत राहत, इसीडी, पेन्सनबाट वञ्चित शिक्षक एवं विद्यालय कर्मचारीमा मागहरुप्रति कुनै विमति नरहेको समेत स्पष्ट पारेको छ । अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ–‘७ बुंदे सहमति आफैमा ऐतिहासिक हुँदाहुँदै पनि यसलाई पूर्णता दिन राहत, साविक उ.मा.वि.लगायत अस्थायी प्रकृतिका शिक्षक साथीहरुको प्रतिस्पर्धामा सहभागी हुने प्रतिशत र परीक्षा प्रणालीमा थप व्यावस्था गर्नुपर्ने देखिन्छ । साथै, बालविकास शिक्षक र विद्यालय कर्मचारी साथीहरुको सम्वन्धमा थप व्यवस्था गर्नुपर्ने र पेन्सन वञ्चित शिक्षकहरुको सम्बन्धमा नयाँ ऐन जारी नहुँदासम्म पुरानै पद्धति अन्गर्गत पेन्सन पाउनुपर्ने मुद्दामा पनि हाम्रो विमति नरहेको हाम्रो संगठन स्पष्ट गर्न चाहन्छ ।’

युएण्टोले उत्पीडित शिक्षक कर्मचारीका पक्षमा अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ । विज्ञप्तिमार्फत् युएण्टोले आन्दोलनरत शिक्षक÷कर्मचारीहरुलाई सभ्य र मर्यादित बन्न साथै, नेपाल शिक्षक महासंघमार्फत् समस्याको समाधान गर्न समेत अपील गरेको छ । शिक्षकहरुको आन्दोलन राज्यप्रति आफ्ना न्यायोचित माग र मुद्दाहरु पूरा गराउन भएको भन्दै युएण्टोले शिक्षक महासंघ कमजोर हुँदा शिक्षकका सबै मुद्दा पुरा हुन नसक्ने स्मरण गराएको छ ।

प्रतिकृया दिनुहोस्