काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरुले अनुसन्धानका कार्यमा उल्लेखनीय कार्य गर्न नसकेको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन् । विश्वविद्यालयका अहिलेको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने भन्दै उनले विश्वविद्यालयमा राजनीतिकरण स्वीकार्य नभएको बताए ।

शनिवार अनलाईन माध्यमको प्रयोग गरी नेपाल फिजिकल सोसाईटीको एनपिस स्कुल अफ एड्भान्सड कम्प्यूटिङ को उद्घाटन तथा जर्नल अफ नेपाल फिजिकल सोसाईटी सार्वजनिक गर्दै शिक्षामन्त्री पोखरेलले नेपाल फिजिकल सोसाईटीले गरेका कार्यक्रमहरुको सह्राना गर्दै यूवा वैज्ञानिकहरुको पहलकदमीबाट आफु अत्यन्तै उत्साहित भएको बताए । उनले सरकारले पनि विज्ञान प्रविधिको विकासका लागि नयाँ शिराबाट काम शुरु गरेको स्पष्ट पारे ।

उनले विज्ञान प्रविधि तथा नवपर्वतन नीति–२०७६, रेडियोधर्मी पदार्थको (नियमन तथा उपयोग) सम्बन्धी ऐन, २०७७, किर्तिपुर स्थित वर्षैदेखि सञ्चालन हुन नसकेको विपि कोईराला विज्ञान संग्रहालय अब्जरभेटरी तथा प्लानेटोरियमको संचालन, विधि विज्ञान प्रयोगशालाको प्रदेश स्तरमा विस्तार, ६३७ स्थानीय तहमा प्रविधिक शिक्षालयको स्थापना जस्ता कार्यहरु भएको उल्लेख गर्दै विज्ञान तथा प्रविधिको एक विशिष्टकृत विश्वविद्यालयको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना कार्य अगाडि बढाईएको बताए ।

उनले पारमाणविक अनुसन्धान केन्द्र तथा वहुविधागत प्रयोगशालाको स्थापनाका लागि डिपिआरको कार्य अगाडि बढाइएको बताउनु भयो । साथै, विद्यार्थीको विज्ञान तथा गणितको ज्ञानसिपलाई अभिवृद्धि गर्न स्टिम एजुकेशनलाई अगाडि बढाएको उनले स्पष्ट पारे ।

उहाँले कोभिड महामारीका असर र निराकरणका विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न क्षेत्रका विज्ञ सम्मिलित गरि विभिन्न छ वटा समिति बनाई काम गरेको उल्लेख गर्दै नेपालका विश्व विद्धालयहरु अनुसन्धानका कार्यमा उल्लेखनिय कार्य गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

विज्ञान प्रविधिको विकास बिना मानव जातिले सामना गरेका चुनौतिहरुको निराकरण नहुने भन्दै विज्ञानलाई एक संस्कारको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । विज्ञानको विकासका लागि आगामी असोज १ गते हुन गईरहेको विज्ञान दिवसमा प्रदेश सरकार, स्थानिय निकाय लगाएत विभिन्न तह तप्कालाई सहभागी गराउनु पर्ने बताउँदै मन्त्री पोखरेलले नेपाल फिजिकल सोसाईटिलगायत विभिन्न प्रोफेशनल सोसाईटीहरुलाई यो दिवश सफल पार्न सहयोग गर्न आग्रह गरे ।

नेपाल फिजिकल सोसाईटीका सभापति प्राडा नारायण प्रसाद चापागाईको अध्यक्ष्यता तथा शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नास्टका उपकुलपति शुनिलबावु श्रेष्ठ, त्रिभुवन विश्वविधालयका रेक्टर प्राडा शिवलाल भुसाल, भौतिकशास्त्रका प्रध्यापकहरु, नेपाल फिजिकल सोसाईटीका सातै प्रदेशका च्याप्टरका सभापति लगायतका सदस्यहरु नेपाल अमेरिका फिजिकल सोसाईटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सभापति प्राडा चापागाईले नेपाल फिजिकल सोसाईटीको वारेमा प्रकाश पार्दै हालसम्म नेपाल फिजिकल सोसाईटीले गरेका महत्वपुर्ण कार्यहरुको वारेमा प्रकाश पारेका थिए । उनले विगतमा सरकारबाट अपेक्षाकृत सहयोग पाउन नसकेको भन्दै हाल शिक्षा मन्त्रालयले शुरु गरेका प्रयासहरुको प्रशंसा गर्दै भौतिक विज्ञानको विकासमा सरकारसँग हातेमालो गर्न तयार रहेको वताएका थिए ।

कार्यक्रममा नास्टका उपकुलपति त्रिभुवन विश्वविद्धयालयका रेक्टर विभिन्न प्राध्यापक नेपाल अमेरिका फिजिकल सोसाईटीका अध्यक्षले शुभकामना व्यक्त गरेका थिए । साथै, नेपाल फिजिकल सोसाईसिटीका चिफ ईडिटर डा विनोद अधिकारीले आगामी दिनमा जर्नलको गुणस्तर सुधारका लागी सम्पुर्ण प्रयास गरिने बताएका थिए ।

प्रतिकृया दिनुहोस्