बुटवल । विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने भएको छ। मधेस र लुम्बिनी प्रदेशका विदेशबाट फर्किएका युवाहरुलाई सीपमूलक तालीम दिएर स्वरोजगार र उद्यमी बनाइने भएको हो। शुक्रवार शिक्षा पत्रकार समूह द्वारा बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो।

कार्यक्रममा शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम प्रशंसनीय रहेको बताए। प्रदेशका निकायहरुसँग समन्वय गरे कार्यक्रम कार्यान्वन गर्न सहज हुने उनको भनाइ थियो। कार्यान्वयन र अनुगमनको चरणमा पनि मन्त्रालयले सहयोग गर्ने उनले बताए।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेको भन्दै तालीम दिन भन्दा पहिले लिन चाहेको तालीम पहिचान गर्नुपर्ने बताए। कस्तो रोजगार चाहेको हो त्यो व्यक्तिको पहिचान गर्न आवश्यक छ भन्दै उनले यस कार्यक्रमलाई प्रदेश सरकार अगाडि सारेका रोजगारीसँग सम्बन्धित कार्यक्रममा पनि जोडन सकिनेमा जोड दिए।

बिट्रिस काउन्सिल–दक्षता परियोजना टिम लिडरका एरिक विन्थर स्मिड्टले विदेशबाट फर्केका युवालाई स्वरोजगार र पुनः विदेश विदेश फर्कन चाहनेहरुको पनि दक्षता विकास गर्ने लक्ष्य लिएको बताए।

यसले स्वरोजगारी र उद्यममा उल्लेख्य प्रभाव पार्ने उनको भनाइ थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा यूएनडीपीले ब्रिटिश काउन्सीलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र यूरोपियन युनियनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। बुटवल उद्योग वाणिज्य संघको कार्यबाहक अध्यक्ष दिनेशकुमार श्रेष्ठले बजारमा रोजगार पाएनौं भन्दैगर्दा उद्योगीहरुलाई कामदार पाउन मुस्किल रहेको सुनाए।

सीपयुक्त जनशक्ति आजको आवश्यकता रहेको भन्दै उनले नगरपालिका र उद्योग वाणिज्य संघले जब लिंक सञ्चालन गरी रोजगारमा युवालाई जोडने प्रयास थालेको बताए। सिटिइभिटीका निर्देशक दिपक प्रसाद पौडेलले युवाहरुलाइए सीपयुक्त तालीम प्रदान गर्दा सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको बताए। १५ सयलाई दिने सीपयुक्त तालिम हेरेर सिटिइभिटीले पाठ्यक्रम बनाउन तयार रहेको उनको भनाइ थियो।

अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले वैकल्पिक शिक्षा प्रदान गरेर विद्यालयको शिक्षा नपाएकाहरुलाई शीप दिन सके उनीहरुलाई उनीहरुलाई उद्यमशीलता प्रदान गर्न सकिने बताए।

रिटर्निङ माइग्रेट नेपालका उपाध्यक्ष सीता बस्यालले रिटनिङ माइग्रेटले नवलपरासीमा चिस्यान केन्द्र, प्रदेश स्तरीय एग्रो मार्ट सातै प्रदेशमा बनाउने काम भइरहेको जानकारी गराइन।

यूएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा। मुकुन्दमणि खनालले ५ लाख ७२ हजार नेपाली कामदार कोभिडका कारण नेपाल फर्किएका भन्दै उनीहरुलाई सीप र तालीम प्रदान गर्न सके स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सकिने बताए।

विदेशमा सिकेको सीपलाई केही मात्रामा भएपनि उपयोग गर्न सके देशमा उत्पादन बढाउन सकिने भन्दै फर्निचर, डकर्मी, कूक, बाख्रापालन, वेटर, च्याउ र तरकारी खेती क्षेत्रमा कामदारको माग बढी रहेको बताए। त्यसैले दुईप्रदेशका विदेशबाट फर्किएका १५ सय युवालाई रोजगारमूलक सीपयुक्त तालीम दिन लागिएको उनले बताए।

कार्यक्रमले सिपको मापन गरी पाठ्यक्रम बनाई रोजगारीका अवसर सुनिश्चित गर्ने उनको भनाइ थियो ।कृषि, निर्माण र पर्यटनलाई प्राथामिकतामा राखेर तालिमका प्याकेज बनाइएको उनको भनाइ थियो।

कोभिडको कारण रोजगार गुमाएकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रमको लक्ष्य रहेको उनले बताए। उनका अनुसार रोजगारी गुमाएका, १८ वर्ष पूरा भएको, मधेश र लुम्बिनी प्रदेशमा यो कार्यक्रम लागू हुनेछ।

अहिले तथ्याङक संकलन भइरहेको र हालसम्म लुम्बिनीमा ५ सय र मधेशमा ३ सय जनाको तथ्याङ्क संकलन भइसकेको उनले जानकारी दिए।

कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षासँगै शिप जोडिनुपर्नेमा जोड दिए। कार्यक्रममा यूएनडीपीकी कल्पना सरकार, इन्जिनियर गुणराज घिमिरे, विदेशबाट फर्केका डिएल शर्मा, सन्तोष अर्याल, शिक्षा पत्रकार समूहका महासचिव रोशन गाउँलेलगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्