काठमाडौं । बुढानीलकण्ठ नगरपालिका क्षेत्रका विद्यालयहरु भदौं देखि सञ्चालन हुने भएका छन् । साउन महिनाभित्र विद्यार्थी भर्ना सकाएर भदौं १ गते देखि विद्यालयमै पठनपाठन शुरु गर्ने बुढानीलकण्ठ  नगरपालिकाका प्रमुख उद्धव खरेलले जानकारी दिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ)ले आयोजना गरेको भर्चुअल संवादमा बोल्दै नगरप्रमुख खरेलले कुनैपनि हालतमा भदौ १ गते देखि विद्यालय सञ्चालन गर्ने स्पष्ट पारे ।

केन्द्रले धेरै ठाउँमा हेरेर निर्णय गर्नुपर्ने भएकाले ढिलाई हुन सक्ने भन्दै नगरले भदौ १ गतेदेखि विद्यालय सञ्चालनको सम्पूर्ण तयारी गरिसकेको जानकारी दिए ।

‘साउन भित्र भर्ना–अभिलेखीकरणका काम सक्छौं, भदौं देखि फेस टु फेस विद्यालय खुलाउँछौं’, नगर प्रमुख खरेलले भने, हामी माथिको निर्णय कुर्दैनौं भदौ १ देखि पठन–पाठन शुरु गर्छौं ।’

स्वास्थ्य सुरक्षा र सामाजिक दुरी सहित विद्यालयमा पठन–पाठन शुरु गरिने उनको भनाइ थियो ।

शिक्षा मन्त्रालयले छिटो स्वास्थ्यको मापदण्ड बनाइदिनुपर्ने उनको भनाइ थियो । ‘मन्त्रालयले स्वास्थ्य मापदण्ड छिटो बनाइदिए सोही अनुसार विद्यालय सञ्चालन गर्नेछौं’, खरेलले भने ।

नगरले निजीविद्यालयहरुलाई चैत्र महिनासम्मको वक्यौता शुलक उठाउन अनुमती दिइसकेको र बैशाखको शुल्क मिनाह गर्न निर्देशन दिइसकेको खरेलले बताए ।

‘चैत सम्मको उठाउनुस्, बैशाखको छुट गर्नुस् भनेर भनिसकेका छौं’, नगरप्रमुख खरेलले भने, ‘जेठ देखि भने अतिरिक्त शुल्क नलिई ५० प्रतिशत मासिक शुल्क मात्रै लिन भनेका छौं ।’

नगरमा मापदण्ड अनुसार मासिक ६ हजार भन्दा बढी शुल्क लिन नपाइने भएपनि विद्यालयहरुले मासिक ३० हजारसम्म लिने गरेको गुनासो भएको भन्दै खरेलले त्यसको अनुगमन गरिने बताए ।

अनलाइन वा वैकल्पिक सिकाइ शुरु गरेका निजी विद्यालयले अभिभावकलाई राजी बनाएर ५० प्रतिशतसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । कतिपय विद्यालयले ५० प्रतिशत शुल्क लिन शुरु गरिसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्