काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।

‘नेपालमा जति पनि पार्टी छन् । सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसंग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक बिचारलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन,’ प्रचण्डले भने ।

अध्यक्ष दाहालले शिक्षकलाई राज्यले अन्याय गरेको पनि बताए। शिक्षकलाई राज्यले विभेदमा पारेका कारण शिक्षकले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाई छ। ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ। यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ,’ दाहालले भने, यो नेगेटिभ भित्रको पोजेटिभ भएकै कारण शिक्षक मजदुर, किसानसँग एकाकार भएर आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिनुको कारण त्यहीँ हो। नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईँहरु पनि भएको भए के को आन्दोलनकारी हुने? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको । तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहीँ नबुझ्नु होला।’

यसैले पनि शिक्षकहरू अझै सक्रियतापूर्वक समाजसेवामा लाग्नुपुर्ने उनले बताए । राजनीतिक रुपान्तरणमा उनीहरू लाग्नुपर्ने दाहालको भनाइ थियो । उनले भने,’म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ । लागेर मात्रै हामी सामाजिक र राजनीतिक रुपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ । अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाइँहरूलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बीचमा काम गर्ने वातावरण बनाइन्छ । बनाउनुपर्छ । तपाइँहरू द्विविधामा नरहनु होला ।’

तर शिक्षकलाई राज्यले अन्याय गरेको दाहालको भनाइ थियो । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण उनीहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनले बताए ।

उनले भनेका छन्, ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजिटिभमा बदल्नु छ ।’

प्रतिकृया दिनुहोस्