काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।

प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।

अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ ।

प्रतिवेदन बुझ्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गरिरिराजमणि पोखरेल प्रतिवेदन उच्च स्तरीय समितिमा छलफल गराई मन्त्रिपरिषद्मा लग्ने बताए ।साथै प्रतिवेदनमा एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।

साथै, परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निष्कर्ष छ । प्रतिवेदनमा कक्षा ११ को परीक्षा भने केही समयपछि गर्दापनि हुने सिफारिस गरिएको छ ।

२०७७ बैशाख १८ गते १९:५०मा प्रकाशित

प्रतिकृया दिनुहोस्