ठोकर्पा, सिन्धुपाल्चोक । सामुदायिक विद्यालयहरुमा सधैं चर्चा गरिने पक्ष हो, गुणस्तरीय शिक्षा । गुणस्तरीय शैक्षिक वातावरणका लागि महत्वपूर्ण पक्ष हो, कक्षा शिक्षण ।कक्षा शिक्षणलाई प्रभावकारी बनाउन शैक्षिक सामग्रीहरुको महत्वपूर्ण भूमिका हुन्छ । यही पक्षलाई उजागर गर्न सुनकोशी गाउँपालिकाअन्तर्गतका ९ वटा विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याइरहेको संस्था टुकी संघ सुनकोशी सक्रियतापूर्वक लागेको छ । यसै सन्दर्भमा टुकी संघ सुनकोशीको सहजीकरणमा ठोकर्पाको बाघभैरव माध्यमिक विद्यालयमा बालअधिकार संरक्षणसम्बन्धी शैक्षिक सामग्रीहरुको प्रदर्शनी आयोजना भयो ।

बालअधिकारका क्षेत्रमा परियोजनाले प्राप्त गरेको सफल उपलब्धिलाई संस्थागत गर्न बालअधिकार प्रबद्र्धन प्रदर्शनी भनेर आयोजना गरिएको समारोह एउटा भव्य शैक्षिक जमघटमा परिणत भयो । ९ वटै विद्यालयका शिक्षक र विद्यार्थीले तयार गरेका शैक्षिक सामग्रीहरु र बालक्लबका गतिविधिहरुको प्रदर्शनी हेरेर विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरोकारवालाहरु उत्साहित भए ।

समारोहमा सबै विद्यालयबाट विद्यार्थी, शिक्षक र अभिभावक सहभागी थिए । एक अर्काको प्रदर्शनी हेर्दै सिक्दै उनीहरु आनन्द लिइरहेका देखिन्थे । प्रदर्शनी समारोहमा सबैभन्दा उत्साहित थिए जनप्रतिनिधिहरु । सुनकोशी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विभिन्न वडाका वडा अध्यक्षसहितका जनप्रतिनिधिहरुले प्रदर्शनी अवलोकन गरेर सबै वडाका सबै विद्यालयमा यसरी नै प्रदर्शन आयोजना गर्न सकिनेबारे छलफल गरे ।

चाइल्ड फण्ड जापान र टुकी संघ सुनकोशीको कामबाट उत्साहित सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाको पहिलो प्रतिबद्धता नै ९ वटा विद्यालयमा सञ्चालित गतिविधिहरुलाई दीगो रुपमा अगाडि बढाउने थियो । अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘प्रदर्शनीमा हलोदेखि हेलिकोप्टरसम्म देखें । यस प्रकारको उपलब्धिलाई पालिकाले सुनकोशीको शान बनाउँछ । शैक्षिक सामग्री निर्माणलाई प्रोत्साहित गर्छ ।”

टुकी संघ सुनकोशीले चाइल्ड फण्ड जापानसँगको सहकार्य तथा चाइल्ड फण्ड कोरियाको आर्थिक सहयोगमा सुनौलो भविष्यका लागि शिक्षा परियोजना सन् २०२० देखि सञ्चालन गर्दै आएको छ । यो परियोजनाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने, विद्यालयको भौतिक वातावरणमा सुधार ल्याउने, विद्यार्थीको नियमितता बढाउने, सिकाइ र मूल्याङ्कनमा सुधार ल्याउने, व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको क्षमता अभिवृद्धि गर्ने, शिक्षकहरुको शिक्षण सीप र शिक्षण कलालाई परिस्कृत गर्ने, बालक्लवहरुको क्षमता विकास, आवश्यक नीति निर्माण, समस्याको सुनुवाई तथा सञ्जाल निर्माण प्रमुख कार्य गरेको छ ।

सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न चरणमा गुणस्तरीय तालिमहरु आयोजना गरिएको थियो । व्यवस्थापन समिति, अभिभावक, शिक्षक र बालक्लबका सदस्यहरुले समयानुकूल तालिम प्राप्त गरे । यसैको प्रतिफल विद्यालयका गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालन भएका छन् । शिक्षकहरुले कक्षाकोठालाई शैक्षिक सामग्रीयुक्त बनाएका छन् । शिक्षकहरु तयारीसाथ कक्षाकोठामा छिर्ने गर्छन् र बालकेन्द्रित भएर प्रभावकारी शिक्षण गर्छन् । यसबाट विद्यार्थीहरुको शैक्षिक उपलब्धि देखिनेगरी अघि बढेको छ ।

शैक्षिक सामग्री निर्माण र प्रयोग सम्बन्धी तालिममा सिकेको सीप र त्यसलाई कक्षामा कसरी प्रयोग गर्छु भनेर जनजागृति माध्यमिक विद्यालयका शिक्षक बद्रिप्रसाद न्यौपानेले आयोजित बालअधिकार प्रवद्र्धन प्रदर्शनी समारोहमा पनि प्रस्तुत गर्नुभएको थियो । यसबाट अरु शिक्षक र जनप्रतिनिधिहरुलाई पनि हौसला मिलेको थियो । शैक्षिक सामग्रीको प्रयोगसम्बन्धी प्रस्तुतिबाट खुशी देखिएका पालिका अध्यक्ष तिमल्सिनाले पनि शैक्षिक सामग्री निर्माणका लागि पालिकाले सहयोग गर्ने कुरा प्रष्ट पार्नुभयो ।

गैरसरकारी संस्थाहरुले लामो समय लगाएर गर्ने शैक्षिक उपलब्धिहरुले परियोजना सकिएपछि निरन्तरता पाउँदैनन । टुकी संघका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले समारोहमा पाँच वर्षका उपलब्धिहरु सुनाउँदा यो विषयपनि छुटाउनु भएन । सम्बोधनका क्रममा पालिका अध्यक्ष तिमल्सिनाले पालिकाले यसलाई निरन्तरता दिने विषयमा बसेर छलफल गर्न तयार रहेको बताउनुभयो । हुन त, टुकी संघले परियोजना सञ्चालनको शुरुवातदेखि नै यसको दीगोपनामा विशेष ध्यान दिएको छ । हरेक क्रियाकलाप विद्यालयले निरन्तरता दिन सक्ने किसिमले सञ्चालित थिए । त्यसैगरी, सम्पूर्ण गतिविधिहरुमा पालिकालाई सामेल गरिएको छ । पालिका अध्यक्षको सकारात्मक दृष्टिकोणले यसको दीगोपनालाई सहज बनाउँछ ।

कार्यक्रममा बालबालिकाको तर्फबाट बाल सञ्जालका सदस्य दीपक नेपालीले विद्यालय शिक्षाको गुणस्तर बढाउन र बालबालिकालाई विद्यालय आउँ–आउँ र सिकौँ– सिकौँ लाग्ने वातावरण सिर्जना गर्न सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रमबाट धेरै नै मद्दत पुगेको बताउनुभयो । बालअधिकार संरक्षणका क्षेत्रमा बालबालिकालगायत अभिभावक, शिक्षक, र विद्यार्थीको क्षमता विकास एवं बालक्लब तथा बाल सञ्जालको गठन, परिचालन र यसलाई संस्थागत गराउने कुरामा पालिका, विद्यालय र सहयोगी संस्था चाइल्ड फण्ड जापान र टुकी संघ सुनकोशीको भूमिका स्मरणयोग्य रहेको कुरा पनि नेपालीले आफ्नो मन्तव्यका क्रममा सुनाउनु भयो ।

कार्यक्रममाजनजागृतिमावि, भुमेश्वरीमावि, कालिदेवी आधारभूत विद्यालय, बेत्रावती आधारभूत विद्यालय, ठोकर्पा मावि, बाघ भैरव मावि, बाल शिक्षा आधारभूत विद्यालय, रक्तकाली आधारभूत विद्यालय र गणेश माध्यमिकविद्यालय सहभागीथिए ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुले बालअधिकारसँग सम्बन्धित नाटक, गीत, नृत्य प्रस्तुति र कविता वाचन गरेका थिए ।

कार्यक्रममा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कान्छी लामा, चाइल्ड फण्ड जापानका एरिया मेनेजर मनोजकुमार थारु, टुकी संघ सुनकोशीका सचिव सविना लामा, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्णप्रसाद सुवेदी, बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने, शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष हरि थापालगायतले मन्तव्य राख्नुभएको थियो ।

समारोह सुनकोशी वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको अध्यक्षतामा भएको थियो । बालअधिकार प्रबद्र्धन प्रदर्शनी समारोहको सञ्चालन पालिकास्तरीय बाल सञ्जालका सचिव एलिना श्रेष्ठ, सदस्य आदर्श खनाल र आकृति जिसीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्