काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । त्रिविले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा भने निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने जानकारी दिए ।   जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए ।

‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन । स्थिति सामान्य भएपछि नयाँ तालिका निकाल्छौँ,’ उनले भने, ‘वार्षिक परीक्षाको अरु विकल्प छैन । केही ढिला हुन्छ । तर परीक्षा हुन्छ ।’

वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने उनले जानकारी दिए । परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने भन्दै उनले भने, ‘अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ।’

सेमेस्टरको परीक्षा के गर्ने भन्ने विषयमा कार्यदल बनाएकाले कार्यदलको सुझाव आएपछि निर्णय गरिने उनले बताए । ‘सेमेस्टरको परीक्षालाई कुन रुप दिने भनेर कार्यदलले अध्ययन गर्दै छ । कार्यदलको प्रतिवेदन आएपछि निर्णय हुन्छ । अहिले केही निर्णय भएको छैन,’ उनले भने ।

विद्यार्थीलाई केही समय दिनेगरी पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।  त्रिविले गत चैत ७ गतेदेखि कोरोना भाइरसको कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । जसको कारण स्नातकदेखि स्नातकोत्तर तहसम्मका ७ लाख विद्यार्थी परीक्षाकाे प्रतीक्षामा छन् ।

प्रतिकृया दिनुहोस्