काठमाडौं । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देश अझै कोरोनाको उच्च जोखिममा रहेकाले दशैं तिहार मनाउँदा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभयो ।

मानिसहरु स्वस्थ रहेमा चाडपर्वहरु फेरि आउने भन्दै मन्त्री ज्ञवालीले आशीर्वाद बचाएर राख्न सबैमा आग्रह गर्नुभयो । “काठमाडौं उपत्यकामा ४० लाखको बसोबास रहेको छ, यहाँ जोखिम अनियन्त्रित भएमा भयावह अवस्था आउन सक्छ” सरकारका प्रवक्ता ज्ञवालीले भन्नुभयो, “कोरोनाको उच्च जोखिम पनि यही उपत्यकामैं भएकाले काठमाडौंबाट घर जाँदा र घरबाट काठमाडौं आउँदा विशेष ध्यान दिन म विशेष आग्रह गर्दछु ।”

सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीकाअनुसार विभिन्न देशमा कार्यरत रहेका अवैतनिक बाणिज्य तथा महाबाणिज्यदूतको कार्यकाल थप्ने निर्णय पनि गरेको छ ।

सोहीअनुसार जनस्वास्थ्य सम्बन्धी सबै मादपण्ड पूरा गर्नेगरी विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय सरकारले गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै, २५ जनासम्म सहभागी गराएर व्यवसायिक तालिम प्रदायक संघ संस्थालाई तालिम सुचारु गर्ने अनुमति पनि सरकारले दिएको छ ।

त्यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष तथा एक जना महिला सदस्यको कार्यकाल सकिएकाले लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयको सचिव सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय सरकारले गरेको छ ।

सोहीअनुसार २०७७ वैशाख १४ गतेदेखि स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुको पदपूर्ति सम्बन्धी प्रक्रियालाई सुचारुको अनुमति पनि सरकारले दिएको छ । सरकारका प्रवक्ता ज्ञवालीकाअनुसार राष्ट्रिय सूचना प्रविधि काठमाडौंका लागि आ।व। २०७७र७८ का लागि सात र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका लागि नौ गरी जम्मा १६ जना अधिकृत स्तरका अस्थायी दरवन्दीको स्वीकृति पनि प्रदान गरिएको छ ।

मन्त्री ज्ञवालीले विज्ञापन बोर्डको २०७७र७८ का लागि अधिकृत स्तरको ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । मन्त्रिपरिषदको पछिल्लो बैठक असोज १९ गते सोमबार बसेको थियो ।

लक्की चौधरीले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्