काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

नेपाली विषयको ६७, अंग्रेजी विषयको ७९, गणित विषयमा ८५, विज्ञान विषयको १२४, सामाजिक विषयको ५३, अर्थशास्त्र विषयको ७, कार्यालय सञ्चालन तथा लेखा विषयको १५ विषयका लागि दरखास्त आह्वान भएको हो । यसैगरी, संस्कृत व्याकरणको ३ र कम्प्युटर विज्ञान विषयको ३ गरी ४३६ पदमा दरखास्त आह्वान भएको हो ।

माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ ।

तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।

उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्