आज अर्धवार्षिकी

Avatar photo

Byएजुकेशन पाटी

११ भाद्र २०७७, बिहीबार
राजेश घिमिरे

ए मान्छे
सोच विचार गर त
आफु जस्तो जान्ने सुन्ने
कोहि छैन भन्थ्यौ नि !
अझ
इम्युनिटि पावरको धाक लगाउँदै थियौ
पशुलाई थुनेर घरपालुवा बनाउने
तिमीलाई
तिम्रै घरमा थुनेको अर्धवार्षिकी मनाउँदैछु

मलाई रोक्न के गरेनौं तिमीहरुले ?
घमण्ड पनि कति हो तिमीहरुलाई ?
चुपचाप बस्नुपर्नेमा
भेडाको बथान झैँ हिड्यौ
मलाई हेपेर
खुब भन्थ्यौ नि
सिनेमा घर, रेष्टुरेन्ट, हिँडडुल
भएन भने त जिन्दगी नै छैन भनेर
ऐले
के लिएर बाँचेका छौ कुन्नी ?

तिमीहरुले त मलाई
नाम दिएर
बदनाम गराएका छौ
तर याद गर
तिमीहरुले दिएको नामको नभई
तिमीहरुको घमण्डको प्रतीक हुँ
मेरो बिरुद्धमा
जे जस्ता सुइ बनाउ
मलाई कतै दुख्दैन, फरक पर्दैन
तर
तर सुध्रिदैनौं भने
आफ्नै घमण्डी रापमा जल्छौ
र पनि मलाई केही फरक पर्दैन

के थाहा थुनाइको
वार्षिकोत्सव पो मनाउँछु कि !
सावधान !
आफुलाई सुकिलो मुकिलो ठानेर
सोझा साझामाथि
खेलवाड गर्नेहरु,
पालो तिमीहरुको पनि आउँदै छ
त्यतिवेला मलाई बधाईको
ओइरो नलागोस् ।

जैलेसम्म घैटोमा घाम लाग्दैन
तबसम्म
मेरो आयुमा कुनै खड्को रहन्न
बुझे तिम्रै लागि
नबुझे तिम्रै लागि
मेरो रहर डुल्ने होइन
तर डुलाउँछौ भने पनि
थाक्ने होइन

प्रतिकृया दिनुहोस्