काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तयारी बिनाको अनलाइन शिक्षाले आधारभूत तहका लाखौं बालबालिकामाथि मानसिक दबाब पर्नसक्ने भन्दै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी विद्यार्थी तथा अविभावकहरूसँगको परामर्श र न्यूनतम तयारीबिनाको अनलाइन शिक्षाबाट आधारभूत तहका बालबालिकाहरूमाथि मानसिक दबाब पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान पुर्याउन तीनैतहका सरकार तथा सम्पूर्ण नागरिकसँग आग्रह गरेको हो ।

आयोगले विदेशमा अलपत्र नेपाली विद्यार्थी, आप्रवासी कामदार, कामको सिलसिलमा विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउने वातावरण तयार गर्नसमेत सरकारलाई भनेको छ ।

आयोगले विज्ञप्तिमा कोरोना भाइरसबाट संक्रमितबाहेक अरू बिरामीको उचित औषधोपचारको व्यवस्था हुन नसकिरहेकामा चिन्ता व्यक्त गर्दै त्यसप्रति गम्भीर हुन सरकारलाई निर्देशन दिएको छ ।

विज्ञप्तिमा प्रकोप फैलिन नदिन निषेधित तथा सिल गरिएका क्षेत्रका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा शिशुहरूको आधारभूत आवश्यकतामा विशेष ध्यान पुर्याउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

२०७७ बैशाख २५ गते २१:४९मा प्रकाशित

प्रतिकृया दिनुहोस्