काठमाडौं । आफ्ना छोराछोरी निजी विद्यालय पढाउने सरकारी विद्यालयका शिक्षकहरु कार्बाहीमा परेका छन् । दैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएको भन्दै तीन शिक्षकलाई कार्बाही गरेको हो । गाउँपालिकाले तीनजना शिक्षकहरुलाई जनही १० हजारका दरले जरिवाना गरेको हो ।

श्रीकृष्ण माविमा कार्यरत तीन जना शिक्षकलाई गाउँपालिकाले कार्बाही गरेको हो । वियालयमा कार्यरत शिक्षक रोशनी मल्ल, पदम बहादुर नेपाली र कमला कुमारी चन्दलाई कारवाही गरिएको गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत राम बहादुर बूढाले जनाएका छन् ।

दैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु। १० हजारका दरले जरिवाना असुल गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको २०७५ चैत्र २५ गतेको निर्णय अनुसार निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई जरिवाना गर्ने भएको हो ।

३१ सैं जनालाई आन्तरिक राजस्व कोषमा रकम जम्मा गर्न गाउँ शिक्षा शाखाले सम्बन्धित विद्यालय मार्फत शिक्षक र जनप्रतिनिधिलाई पत्राचार गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्