काठमाडौँ । प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गर्ने कामको संसदीय अनुगमन र निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ ।

समितिको मंगलबार बसेको भर्चुअल बैठकले ७ सदस्यीय उपसमिति गठन गरेको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । उपसमिति संयोजकमा जीवनराम श्रेष्ठ रहेका छन् । सन्तकुमार थारु, तिलबहादुर महत क्षेत्री, सरिता न्यौपाने, नमिता चौधरी, इकवाल मियाँ र अञ्जना विशंखे रहेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण निरन्तर रूपमा समिति बैठक बस्न नसक्ने भएको र सरकारले गरिरहेका कामको अनुगमन र निरीक्षण गर्न पूरै समिति जान नसक्ने भएकाले उपसमिति गठन गरिएको सभापति घर्तीले बताइन् ।

‘कोरोना भाइरसबारे सरकारले गरेका कामको र यससम्बन्धम जेजस्ता समस्या आउँछन् त्यसको अनुगमन र निरीक्षण समितिको तर्फबाट उपसमितिले गर्नेछ,’ उनले भनिन्, ‘समितिको बैठक बसिरहन गाह्रो भइरहेको छ । छिटो छरितो काम गर्ने र आवश्यक परेको अवस्थामा अनुगमनमा जाने गरी उपसमिति गठन गरिएको हो ।’

कोरोना भाइरस र समिति सभापतिको स्वास्थ्य समस्याका कारण शिक्षा तथा स्वास्थ्य समितिको बैठक लामो समयपछि भर्चुअल रूपमा बसेको हो । आगामी दिनमा समितिले लिने निर्णय उपसिमितिले लिने गरी काम हुने बताइएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्