काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७ देखि प्राविधिक धार सञ्चालनका लागि छनोट गरिएका विद्यालयहरुको नामावली सार्वजनिक गरेको छ ।

शैक्षिक सत्र २०७७ का लागि प्राविधिक धार सञ्चालनका लागि प्रदेश नम्बर १ बाट १०, २ नम्बर प्रदेशबाट ५ र बागमती प्रदेशबाट ७ विद्यालय छनोट भएका छन् ।

यसैगरी गण्डकी प्रदेशबाट ६, प्रदेश ५ बाट ६ र कर्णाली प्रदेशबाट ३ विद्यालय छनोट भएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशबाट भने ७ विद्यालय छनोट भएका छन् ।

यस्तै, आगामी वर्षको कार्यक्रमबाट अनुदान निकासा हुनेगरी गतवर्ष नै निर्णय भइसकेका विद्यालयहरुको संख्या ६ रहेको छ ।

हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) र शिक्षा मन्त्रालयले छुट्टाछुट्टै पाठ्यक्रमका आधारमा विद्यालय तहमा प्राविधिक धारको अनुमति दिँदै आएका छन् । एकैतहमा सिटिइभिटिले ३ वर्षे र शिक्षामन्त्रालयले दुईवर्षे पाठ्यक्रम लागु गर्दै आएका छन् । केही दिन अघि सिटिइभिटि र शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय तहमा सञ्चालन भएका प्राविधिक धारको पाठ्यक्रम एउटै बनाउने भनेर कार्यदल गठन भएको छ ।

शिक्षा मन्त्रालयले तत्कालीन शिक्षा विभागमार्फत् सामुदायिक विद्यालयमा कक्षा ९ बाट प्राविधिक शिक्षा सञ्चालन गर्ने निर्णय २०६८ सालमा गरेको थियो । सोही निर्णयानुसार २०७० सालदेखि कक्षा ९ मा प्राविधिक शिक्षाको ९९ ओटा विद्यालयमा पठन पाठन प्रारम्भ भएको थियो । २०७२ सालदेखि भने ९३ विद्यालयमा कक्षा ११ मा प्राविधिक शिक्षाको पठन पाठन प्रारम्भ भएको थियो । हाल मन्त्रालय अन्तर्गतका प्राविधिक धारतर्फ इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, कृषि तथा पशु विज्ञानतर्फ बाली विज्ञान र पशु विज्ञानका कार्यक्रम सञ्चालनमा छन् ।

प्रारम्भमा ९९ विद्यालयमा परीक्षण गरिएको यो कार्यक्रम अहिले वर्षेपिच्छे बढाउँदै लगिएको छ ।

२०६९–०३–२४ मा जारी भएको विद्यालयस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ का आधारमा सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन हुँदै आएको थियो ।

२०६९ को निर्देशिकाबाट कार्य सञ्चालनमा कठिनाइ भएको भन्दै सो निर्देशिकालाई खारेज गरी विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७१ जारी गरी यस शिक्षालाई सरल र सहज रूपमा प्राप्य बनाउने प्रयास गरिएको छ ।

प्रतिकृया दिनुहोस्