काठमाडौं । नेपाल शिक्षक महासंघले राजधानीको गौशाला स्थित प्यारागन आवासीय माविको कार्यालयमा तालाबन्दी गरेको छ।

महासंघले सो विद्यालयले विगत २ वर्षदेखि शिक्षक कर्मचारीहरूलाई तलब सुविधा नदिएको र कैयौं शिक्षकहरूलाई बिनाकारण निष्कासन गरेको आरोप लगाएको छ । सो सम्बन्धमा वार्तामा बसेर समस्या समाधान गर्न पटक–पटक गरेको आह्वानलाई समेत बेवास्ता गरेपछि बाध्य भएर कार्यालयमा ताला लगाउनु परेको महासंघका केन्द्रीय सदस्य देवीदत्त पौडेलले जानकारी दिए ।

महासंघका अध्यक्ष कमला तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, सचिव झम्क चौलागाईं, इस्टु काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट तथा सचिव भूपाल उप्रेतीसहितको टोली बिहान ११ बजे विद्यालय प्रशासनसँग छलफल गर्न गएको थियो ।


विद्यालय प्रशासन महासंघसँग संवादका लागि नै तयार नभएपछि बाध्यभएर ताला लगाइएको महासंघका सचिव झम्क चौगागाईँले बताए । ‘विद्यालयले यस अगाडि पनि दर्जनौँ पटक भेट्न जाँदा पनि भेट नदिने र फोन गर्दा पनि नउठाउने गरेको थियो’– चौलागाईंले भने।

विगतमा पनि पटकपटक समस्या उत्पन्न भएको सो विद्यालयले १ दर्जन बढी शिक्षकहरूलाई लामो समयदेखि कक्षा र तलब सुविधा समेत नदिई राखेको थियो । मङ्सिर १ गते विद्यालय भौतिक रूपमा खुलेसँगै तलव दिनुको साटो उल्टै ती शिक्षकहरुलाई निष्काशन गरेपछि महासंघ आन्दोलित भएको हो।

प्रतिकृया दिनुहोस्