सिन्धुलीमाढी । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–५, खनियाखर्कस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद हुँदा विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घले मङ्गलबार अनिश्चितकालीन तालाबन्दी गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार विद्यालयमा कार्यरत प्रधानाध्यापक नवराज थापाले गत फागुनमा पदबाट राजीनामा दिएपछि विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्तिका लागि सहायक प्रधानाध्यापक रमेश वर्मालाई सिफारिस गरेको थियो । गाउँपालिकाले विद्यालयमा कार्यरतमध्ये वरिष्ठताका आधारमा शिक्षक सुमन कोइरालालाई प्रअ नियुक्त गरेपछि विवाद उत्पन्न हुँदा तालाबन्दी गरिएको हो ।

असार २७ गते उहाँको प्रअ नियुक्तिसँगै छ महिनादेखि रोकिएको शिक्षक तथा कर्मचारीले तलब खान पाएका थिए । उक्त वडाका अध्यक्ष बुद्धिबहादुर पाल्पाली भने विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिले बखेडा निकालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेलामा उक्त समितिको अध्यक्ष र अभिभावक सङ्घको अध्यक्ष नेकपालाई दिने र विद्यालयको प्रअ नेपाली काँग्रेस निकट शिक्षकलाई दिने सहमति भएको थियो । सोहीबमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ गठन गरियो । ” अहिले सहमति कार्यान्वयन गर्न खोज्दा विद्यालयको प्रअ पनि आफैँलाई चाहिने भनी नेकपाका व्यक्तिले बखेडा निकालेर विद्यालयमा तालाबन्दी गरेको उहाँले बताउनुभयो । अहिले गाउँपालिकाले प्रअ नियुक्त गरेका शिक्षक सुमन कोइराला विद्यालयमा कार्यरत शिक्षकमध्ये सबैभन्दा ज्येष्ठ भएको र प्रअ पनि उहाँले नै पाउनुपर्ने वडाध्यक्ष पाल्पालीले बताउनुभयो ।

गत असार १८ गते एसईईको नम्बर पठाउन सामान्य छलफल भनी विद्यालय व्यवस्थापन समितिको बैठक बोलाई खाली माइन्युटमा सदस्यलाई सही गर्न लगाएरपछि रमेश वर्मालाई प्रअ बनाउने निर्णय गरेर गाउँपालिकामा पेस गरेको समेत पाइएको वडाध्यक्ष पाल्पालीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रम्तेलले प्रधानाध्यापक नियुक्तिका लागि गरिएको सिफारिस अनुसार नियुक्ति नदिएको भन्दै अभिभावकले प्रशासनिक कक्षमा तालाबन्दी गरेको बताउनुभयो । निमित्त प्रधानाध्यापक नवराज थापाले राजीनामा दिएसँगै वर्माले प्रधानाध्यापकको काम गर्दै आउनुभएको अध्यक्ष रम्तेलले बताउनुभयो । उहाँले अभिभावक तथा व्यवस्थापन समितिसँग कुनै परामर्श नगरी पठनपाठन नरोक्ने भन्दै नवनियुक्त प्रअले काम गरेकाले प्रशासनिक रूपमा गम्भीर त्रुटि हुने देखिएकोले तालाबन्दी गरिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले भने जनता मावि खनियाखर्कमा वरिष्ठताका आधारमा सुमन कोइरालालाई प्रअ तोकिएको बताउनुभयो । प्रधानाध्यापक नियुक्तिमा ढिलाइका कारण सो विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब खान नपाएको भन्दै गाउँपालिका अध्यक्ष कार्कीले शिक्षक वर्मा वरिष्ठताका आधारमा तेस्रो रहेकाले पनि सिफारिस अनुसार प्रधानाध्यापक नियुक्त गर्न नसकिने स्पष्ट पार्नुभयोे ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्