हेटौंडा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरको कार्यालयमा तालाबन्द गरेको छ ।

प्याब्सन मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले केही दिनअघि विज्ञप्ति प्रकाशन गरी निजी विद्यालयका शिक्षक, कर्मचारीलाई भदौ महिनादेखि तलब दिन नसक्ने जनाएसँगै निजी विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका हुन् ।
इस्टु मकवानपुर अध्यक्ष सचिन लामा, हेटौंडा उपमहानगर समिति अध्यक्ष सीएम रिमाल, केन्द्रीय समितिका पदाधिकारीसहित समूहले शनिबार तालाबन्द गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार दोस्रो दिन २०७६ चैतसम्मको तलब निकासा नगर्ने विद्यालयको नाम प्रत्येक दिन प्रकाशन गर्दै सेवासुबिधा निकासाका लागि ३ दिन समय दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्द गर्ने जनाइएको छ ।

तेस्रो दिन कालोसूचीमा परेका विद्यालयको तालाबन्द सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्द गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

इस्टुले प्याब्सन मकवानपुरको कार्यालयमा तालाबन्दीका कार्यक्रमसँगै शिक्षक, कर्मचारीको तलब उपलब्ध नगराउने विद्यालयको नाम सार्वजनिक गर्नेलगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

इष्टु मकवानपुरले प्याब्सनविरुद्ध घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउने क्रम बढेको छ । शुक्रबार भएको छलफलका क्रममा नेपाल शिक्षक महासंघ हेटौंडा नगर समिति, राहत शिक्षक समिति, नेपाल अभिभावक संघ, नेपाल शिक्षक संघ मकवानपुरलगायतले इष्टुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

इष्टु मकवानपुरका कानुनी सल्लाहकार ऋषि केबीले कानुनी तहमा सबैले पारिश्रमिक पाउने आधार रहेको बताउनुभयो । राहत शिक्षक समिति मकवानपुर अध्यक्ष हरि पौडेलले आन्दोलनमा ऐक्यवद्धता रहेको बताउनुभयो ।

नेपाल शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दीपक अधिकारीले संस्थागत विद्यालयसँग सधैं सहकार्य गरेर अगाडि बढ्ने भन्दै संस्थागत विद्यालयले शिक्षकलाई उपेक्षा गर्न नहुने बताउनुभयो । उहाँले अप्ठ्यारोमा जगेडाकोष खडा गर्न आग्रह गर्दै प्याब्सनले गरेको निर्णय निन्दनीय भएको उल्लेख गर्नुभयो । शिक्षकले जसरी पनि पारिश्रमिक पाउनुपर्ने भन्दै उहाँले सरकारले यसमा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल अभिभावक संघ मकवानपुर अध्यक्ष ध्रुवप्रसाद चौलागाईंले शिक्षकले कुनै हालतमा तलब पाउनुपर्ने बताउँदा नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रामकुमार अधिकारीले शिक्षामा काम गर्ने फरक व्यबहार गर्न नहुने भन्दै आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको छ ।

संस्थागत विद्यालय अभिभावक संघ जिल्ला अध्यक्ष रमिला सापकोटाले आफूहरु सधैं शिक्षकको पेशागत अधिकारको पक्ष लड्ने बताउनुभयो ।

समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्