स्वीस शिक्षा पद्दति संसारकै उत्कृष्ट शिक्षा पद्दतिमध्येको एक मानिन्छ। सन २००४ देखि अध्ययन र पेशागत संलग्नतासँगै स्विटजरल्याण्डको शिक्षा प्रणाली र शैक्षिक संस्थाहरुलाई निकटबाट नियाल्ने र त्यसका विविध पक्ष र आयामहरु बुझ्ने मौका मिल्यो। नेपालको भौगोलिक बनावटसँग मिल्दोजुल्दो यो युरोपेली देश नेपालीहरूका लागि सपनाको गन्तव्य हो । यस लेखमा नेपाली युवाहरूका लागि उपयोगी बनोस् भन्ने ध्येय राखी उच्च शिक्षा हासिल गर्नका लागि स्विटजरल्याण्ड कसरी आउन सकिन्छ भन्ने विषयमा चर्चा गरेको छु ।

क्षेत्रफल र जनसंख्या दुबै हिसाबले स्विटजरल्याण्ड नेपालभन्दा लगभग साढे तीन गुणा सानो छ। स्विटजरल्याण्डको शिक्षा पद्दति पनि यस देशको भौगोलिक, भाषिक र साँस्कृतिक विविधता जस्तै विविधतापूर्ण छ। यहाँको शिक्षा पद्धतिले यहाँको भौगोलिक र साँस्कृतिक परिदृष्यलाई प्रतिबिम्बित गर्दछ। स्विटजरल्याण्डमा २६ वटा प्रदेश (canton) हरु छन्। यहाँ शिक्षाको जिम्मेवारी संघीय सरकार र प्रदेशहरूमा विभाजित छ।

एघार बर्षको अनिवार्य शिक्षा ९२ बर्षको किन्डर गार्डन सहित जम्मा ८ बर्षको प्राथमिक शिक्षा र तीन बर्षको माध्यमिक शिक्षा० प्रदेशको जिम्मेवारी हो भने उच्च तालिम र शिक्षा संघीय सरकारको जिम्मेवारी।

अनिवार्य शिक्षाका ११ बर्ष पुरा भएपछि दुई तिहाइ युवाहरु भोकेसनल (व्यवसायिक) तालिम लिन्छन्। एक तिहाइ विद्यार्थीहरु उच्च माध्यमिक तहको अध्ययनलाई निरन्तरता दिई विश्वविद्यालयका लागि तयारी गर्दछन्।

स्विटजरल्याण्डमा ९५ प्रतिशत विद्यार्थीहरु सार्वजनिक विद्यालय र ५ प्रतिशत मात्र प्राइभेट विद्यालयमा आफ्नो अध्ययन पूरा गर्दछन्। स्विटजरल्याण्डको संविधानले प्रदेशहरुलाई शिक्षा नीति र नियमहरु बनाउन स्वायत्तताको प्रत्याभूति गरेको छ। त्यसैले एकै स्तरको पाठ्यक्रम पनि कान्टोनपिच्छे फरक-फरक हुन सक्छ।

उच्च शिक्षाका अवसरहरु

स्विटजरल्याण्डले विश्वब्यापीकरणसंगै आफ्नो शिक्षा पद्दति परिमार्जित गर्दै आइरहेको छ। सन २००१ देखि स्विटजरल्याण्डले उच्च शिक्षा बोलोनिया घोषणापत्र (Bologna Declaration) अनुरूप सन्चालन गरिरहेको छ। जसले गर्दा विद्यार्थीहरु युरोपभरि एक शिक्षण संस्थाबाट अर्कोमा सजिलै अध्ययनका लागि सर्न र पूर्व विश्वविद्यालयमा प्राप्त गरेको क्रेडिट पोइन्ट (Credit points) नयाँ शैक्षिक संस्थामा गणना गर्न सक्छन्।

स्विटजरल्याण्डमा विश्वविद्यालय (University) र व्यवहारिक ज्ञानरसीपका लागि खोलिएका विश्वविद्यालय (University of Applied Sciences)हरुले उच्च शिक्षा प्रदान गर्दछन्। उच्च शिक्षाको दोश्रो स्तम्भका रुपमा पेशागत शिक्षा र तालिम प्रदान गर्ने शैक्षिक संस्थाहरु पर्दछन्। स्विटजरल्याण्डका ११ विश्वविद्यालयहरुमध्ये ९ प्रादेशिक सरकारहरुले र २ संघीय सरकारद्वारा संचालित छन्। प्रादेशिक सरकारहरुद्वारा संचालित विश्वविद्यालयहरुले गैर-प्राविधिक र संघीय सरकारद्वारा संचालितमा प्राविधिक विषयहरुमा अध्यापन गराइन्छ।

त्यसबाहेक थुप्रै व्यवहारीक सीपरशिक्षाका लागि खुलेका विश्वविद्यालय (University of Applied Sciences)मा उच्च माध्यमिक शिक्षा हासिल नगरेका, व्यवसायिक तालिम मात्र लिएका तर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरु अध्ययन गर्दछन्। व्यवहारीक सीपका विश्वविद्यालयहरुलाई नेपाली परिप्रेक्ष्यमा प्राविधिक कलेजका रुपमा बुझ्न सकिन्छ। प्राविधिक विश्वविद्यालयमा अध्ययन गरेकाहरुले बढी सैद्धान्तिक र व्यवसायिक विश्वविद्यालयमा पढेकाहरुले बढी व्यवहारिक ज्ञान हासिल गर्दछन्।

स्नातक, स्नातकोत्तर र विद्यावारिधि

बोलोनिया प्रणाली अनुसार विश्वविद्यालय अध्ययन द्वैध स्तरको हुन्छ। यो द्वैध प्रणालीमा स्नातक स्तर प्रथम चरण हो। तीन वर्षको अध्ययनपश्चात् १८० क्रेडिट पोइन्टस् संकलन गरेपछि स्नातकको डिग्री हासिल हुन्छ। स्विटजरल्याण्डमा स्नातक स्तरका अधिकांश कोर्षहरु जर्मन, फ्रेन्च वा ईटालियन भाषामा अध्यापन गराइन्छ।

स्नातकोत्तर स्तरको अध्ययनका लागि स्नातक स्तरको अध्ययन सफलतापूर्वक पूरा गरेको हुनुपर्दछ। तर, स्नातक स्तरको विदेशी प्रमाणपत्र भएकाहरुलाई सोझै स्नातकोत्तर स्तरमा भर्ना दिने वा नदिने भन्ने बारेमा हरेक विश्वविद्यालयले आ-आफ्नै क्राईटेरीया बनाएका छन्। कुनै कुनै विश्वविद्यालयहरुले स्नातकोत्तर स्तरका अध्ययनका लागि प्रवेश-परीक्षा पनि लिन्छन्। केही स्नातकोत्तर स्तरको अध्यापन अँग्रेजी भाषामा र केही यहीँको भाषामा हुने गर्दछ। यसको अध्ययनावधि साधारणतया तीन वर्षको हुने गर्दछ। स्नातकोत्तरको अध्ययन पूरा गर्न १२० क्रेडिड पोइन्टस् जम्मा गर्नुपर्ने र एक मास्टर थेसिस लेख्नुपर्ने हुन्छ। सबै स्विस विश्वविद्यालयहरुले चिकित्सा शास्त्र, भेटेनरी चिकित्सा र दन्त चिकित्सा शास्त्रमा भर्नाका लागि स्थानीय भाषामा Numerus Clausus नामक प्रवेश परीक्षा लिन्छन्।

त्यसैगरी विद्यावारिधिका लागि पनि स्विटजरल्याण्डमा प्रशस्त अवसरहरु छन्। विद्यावारिधिका लागि स्नातकोत्तर स्तरको अध्ययन पूरा गरेको हुनु पर्दछ। विद्यावारिधिका क्रममा विद्यार्थीहरुले तोकिएको विषयमा ३/५ वर्ष अनुसन्धनात्मक काम गर्दै पियर रिभ्युड जर्नलहरुमा विषयगत आर्टिकलहरु प्रकाशित गर्नुपर्ने हुन्छ। अधिकांश विश्वविद्यालयहरुमा अंग्रेजी भाषामा विद्यावारिधि गर्न पाइन्छ। विद्यावारिधि गर्दाको अर्को फाइदा भनेको विद्यार्थीहरुले तीन/चार वर्षका लागि मासिक २र३ हजार स्विस फ्राङ्कसम्मको विद्यार्थी भत्ता प्राप्त गर्दछन्।

अध्यापन भाषा

स्विस विश्वविद्यालयहरुले यहाँका राष्ट्रिय भाषाहरू जर्मन, फ्रान्सेली र इटालियन भाषामा अध्यापन गराउँछन्। बढ्दो संख्यामा विश्वविद्यालयहरुले अंग्रेजी भाषामा कोर्षहरु संचालन गर्न थालेका छन्। कुनै विश्वविद्यालयले भर्नाका लागि जीआरई वा टोफल भाषा परीक्षाको नतिजाको माग गर्छन्। त्यसैले स्विटजरल्याण्डमा अध्ययन गर्नका लागि यहाँको स्थानीय भाषा वा अंग्रेजी भाषामा राम्रो दख्खल हुनु जरुरी छ।स्नातकोत्तर स्तरसम्म विद्यार्थीहरुले अध्ययन खर्चका लागि काम गर्नुपर्ने भएकाले स्थानीय भाषाको ज्ञान काम प्राप्तिमा ठूलो सहयोगी बन्छ। अंग्रेजी भाषामै अध्ययन गरे पनि स्विटजरल्याण्ड बस्दाको समय जर्मन, फ्रान्सेली वा इटालियन भाषा सिक्न सकिएमा समयसंगै शैक्षिक एंव पेशागत प्रगतिका संभावनाहरु खुल्छन।

अध्ययन खर्च, छात्रवृति र पार्टटाइम काम

स्विटजरल्याण्ड संसारकै महंगो देशहरु मध्येको एक हो। स्विस सरकारले उदारताका साथ शैक्षिक क्षेत्रमा लगानी गरेका कारण स्विटजरल्याण्डमा शिक्षा शुःल्क तुलनात्मक रुपमा न्यून छ। तर, पनि नेपाली विद्यार्थीहरुका लागि शैक्षिक शुःल्क महंगो लाग्न सक्छ। विश्वविद्यालय हेरी विदेशी विद्यार्थीहरुका लागि वार्षिक अध्ययन शुःल्क १००० देखि ८००० स्विस फ्रयाङ्कसम्म पर्दछ। अन्य क्षेत्रमा भन्दा इटालियन भाषा बोलिने क्षेत्रमा शुःल्क महंगो छ।

अध्ययन शुःल्कबाहेक विश्वविद्यालय रहेको स्थान र व्यक्तिगत आवश्यकताका आधारमा प्रति विद्यार्थी कोठाभाडा, खाना र अन्य खर्चका लागि वार्षिक लगभग २०,००० देखि ३०,००० स्विस फ्रयाङ्क छुट्याउनुपर्ने हुन्छ। विदेशी विश्वविद्यालयहरुको संबन्धनमा संचालित प्राईभेट शैक्षिक केन्द्रहरु अति महंगा छन्, जुन नेपाली विद्यार्थीहरूका लागि चासोको विषय नहुन सक्छ ।

स्विस सरकार र विश्वविद्यालयहरुले उच्च शिक्षाका लागि मेरिटका आधारमा छात्रवृत्ति पनि प्रदान गर्दछन्। यसका लागि विश्वविद्यालयको वेवसाईटमा सोझै हेर्न सकिन्छ। स्विटजरल्याण्डमा उच्च शिक्षाका संभावनाहरु बुझ्न चाहने विद्यार्थीहरुका सहजताका लागि विश्वविद्यालयका वेव ठेगाना तल प्रस्तुत गरिएको छ।

यदि उल्लेखित शैक्षिक संस्थाहरुमा भर्ना हुन सकिएमा विद्यार्थीका रुपमा गर्न पाइने पार्टटाइम कामको कमाइले केही हदसम्म दैनिक खर्च धानिन सक्ने हुन सक्दछ। तर, अध्ययन सुरु गर्दादेखि नै काम नपाइन सक्नेमा पनि सजग रहनु पर्दछ। आफैंले कमाएर शिक्षा हासिल गर्ने हो भने आफूले सोचेजस्तो काम फेला नपर्दासम्म भुईं पुछनेदेखि भाँडा माझ्नेसम्मका काम गर्न तयार हुनुपर्छ। आवश्यकता पर्दा भाँडा माझे पनि अध्ययन समाप्तिसँगै अवसरका ढोकाहरू खुल्छन्।

अलपत्र परिएला, सजक रहौं

स्विटजरल्याण्डमा तालिम वा शिक्षा हासिल गर्ना आएका विद्यार्थीहरु पटक पटक ठगीमा परी अलपत्र परेका छन्। स्विटजरल्याण्डमा विभिन्न कम्पनीहरुले विदेशी विद्यार्थीहरुलाई लक्षित गर्दै शिक्षण संस्थाहरु स्थापना गरी संचालन गर्ने गरेको देखिएको छ। मैले ती शिक्षण संस्थाहरुलाई काठमाण्डौका कम्प्युटर तालिम केन्द्रहरुसंग दाँज्ने गरेको छु। त्यस्ता शिक्षण एवं तालिम केन्द्रहरुले विदेशी विद्यार्थीहरुलाई आकर्षित गर्न संस्थाको नाम विश्वविद्यालय नै भनेर राख्ने गरेको पनि पाइएको छ।

यसरी खुलेका संस्थाहरुको एकातर्फ कुनै निरन्तरता र दिर्घकालिन कार्यक्रम नहुने भेटिएको छ भने अर्कातर्फ एक/दुई कोठा भाडामा लिएर सबै विद्यार्थीहरुलाई एक/दुई तथाकथित प्राध्यापकहरुले अध्यापन गराउने गरेको देखिएको छ। विद्यार्थीहरुबाट ठूलो धनराशी कुम्ल्याएर यस्ता केन्द्रहरु खुलेकै केही महिनामा बन्द हुने गरेका पनि छन्। जसले गर्दा विद्यार्थीहरु अलपत्र पर्दछन्।

सन २०११ को वेटिङगनको तथाकथित फाईनान्स एवं वाणिज्य विश्वविद्यालय र सन २०१४ मा बेर्नको एक अर्को कलेज बन्द हुँदा नेपाली विद्यार्थीहरु अलपत्र परेका घटनाहरु हामीले देखिसकेका छौं। स्विस मीत्रहरुको सान्निध्यमा हामी स्विटजरल्याण्डका नेपालीहरूले ती विद्यार्थीहरुलाई अर्को कलेज, विश्वविद्यालय र तालिम केन्द्रमा भर्ना गर्न सहयोग गरेका थियौँ। त्यसैले त्यस्ता ठगी गर्ने शिक्षण संस्थाहरुबाट सावधान रहन पनि आवश्यक हुन्छ । शैक्षिक संस्थाको मान्यता र विश्वसनीयतामा ध्यान दिनु जरूरी छ ।

स्विटजरल्याडका सरकारी शिक्षण संस्थाहरुमा अध्ययन गर्न चाहनेहरुले उल्लेखित शिक्षण संस्थाका वेवसाईटबाट थप जानकारी पाउन सक्छन् ।

संघीय सरकारद्वारा संचालित प्राविधिक विश्वविद्यालय स्तरीय शिक्षण संस्थाहरूः

१० स्विस संघीय प्राविधिक इन्स्टिच्युट, जुरीख

२० स्विस संघीय पोलिटेक्निक इन्स्टिच्युट, लोसान

कान्टोनहरुद्वारा संचालित विश्वविद्यालयहरूः

१० बासेल विश्वविद्यालय, बासेल

२० बेर्न विश्वविद्यालय, वेर्न

३० फ्राइबुर्ग विश्वविद्यालय, फ्राइबुर्ग

४० जेनेभा विश्वविद्यालय, जेनेभा

५० लोसान विश्वश्वविद्यालय, लोसान

६० न्युसाटेल विश्वविद्यालय, न्युसाटेल

७० साङख्ट गालेन विश्वविद्यालय, साङख्ट गालेन

८० विश्वविद्यालय इटालियाना, थेसिन

९० जुरीख विश्वविद्यालय, जुरीख

प्राविधिक कलेजहरुः

१० फाखहोखशुले नर्थवेस्तस्वाइज

२० बेर्नरफाखहोखशुले

३० फाखहोखशुले वेस्टस्वाइज  (यसका सात शाखाहरु छन्)

४० फाखहोखशुले वोस्टस्वाईज  (यसका चार शाखाहरु छन्।)

५० होखशुले लुजर्न

६० जुर्खर फाखहोखशुले  ९यसका चार शाखा र आठ उप(शाखाहरु छन्।)

निचोड

स्विटजरल्याण्ड उच्च शिक्षा हासिल गर्न चाहने नेपालीहरुका लागि एक उपयुक्त गन्तव्य हुन सक्छ। विशेषतः केही स्नातकोत्तर स्तरको अध्ययन र विद्यावारीधि अंग्रेजी भाषामा गर्न सकिने भएकाले भाषागत रुपमा हाम्रा लागि सहज हुने देखिन्छ।

होटल र आतिथ्य व्यवस्थापनमा तालिम एवं शिक्षा हासिल गर्न पनि वर्षेनी राम्रै संख्यामा नेपाली विद्यार्थीहरु स्विटजरल्याण्ड आउँछन्। स्विटजरल्याण्डमा अध्ययन गर्न चाहने युवाहरु नक्कली विश्वविद्यालयमा नफस्न ज्यादै सजक हुनुपर्ने देखिन्छ।कुनै पनि कलेज वा विश्वविद्यालयमा भर्ना हुनुपूर्व स्विटजरल्याण्डमा बस्ने नेपाली वा स्विस मित्रहरुको सल्लाह लिँदा ठगीबाट बच्न सकिएला। आवश्यकता अनुसार शंका लागे इच्छुकहरूले ती शिक्षण संस्थाहरुको भ्रमण गर्न पनि सक्छन्।

यदि स्विटजरल्याण्डमा आफ्नो कुनै प्रत्यक्ष संपर्क नभए स्विटजरल्याण्डका गैर-आवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघ-संस्थाका अध्यक्ष वा प्रतिनिधिहरुलाई मेलका माध्यमबाट संपर्क गरी सहयोग लिन सकिन्छ। अनलाइन खवरमा डा.विनय श्रेष्ठले खवर लेखेका छन् ।

२०७२ चैत्र १५ गते २२:५१मा प्रकाशित

प्रतिकृया दिनुहोस्