काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ ।

बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड बराबरको विनियोजन गरेको जानकारी दिएका छन् ।

सुदूरपश्चिम सरकारले बजेटका २७० बुँदा मध्ये शिक्षाका लागि १२ बुँदा छुट्याएको छ । जसमा विद्यालय तहमा अध्ययनरत बादी समुदायका छात्रालाई मासिक एक हजार छात्रवृत्ति दिने, ५० छात्रालाई उच्च शिक्षाअवधिभर मासिक ८ हजारको छात्रवृत्ति दिने उल्लेख छ ।

यस्तै, प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याउने, हरेक प्रदेश निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय निर्माण गर्ने, फरक क्षमता भएका बहिरा विद्यार्थीका लागि छात्राबास निर्माण गर्ने, विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्ने कार्यक्रम बजेटमा समेटिएका छन् ।

बजेटमा समेटिएका शिक्षा सम्बन्धि कार्यक्रमका पूर्णपाठ
शिक्षा
१५५. “छोराछोरी पढाऔः आत्मनिर्भर बनाऔं’ भन्ने नाराका साथ सीमान्तकृत वर्गका रुपमा रहेको बादी समुदायका विद्यालय तहमा अध्ययनरत छात्रालाई निरन्तर अध्ययनप्रति उत्प्रेरित गराई विद्यालय शिक्षापश्चात आत्मनिर्भर हुन सहयोग पुयाउने उद्देश्यले आगामी आर्थिक वर्षदेखि विद्यालय तहको अध्ययन अवधिभर “बादी समुदायका छोरी छात्रवृत्ति कार्यक्रम“ अन्तरगत मासिक एक हजार रुपैंया र उच्च शिक्षा अध्ययन गर्ने सोही समुदायका ५० जना छात्रछात्रालाई उच्च शिक्षा अध्ययन अवधिभर “बादी समुदाय उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम“ अन्तरगत मासिक आठ हजार रुपैंया प्रदान गर्ने व्यवस्था मिलाएको छु । यसबाट बादी समुदायको उत्थान र सशक्तिकरणमा थप योगदान पुग्ने अपेक्षा गरेको छु।
१५६. कानूनी तथा संरचनात्मक व्यवस्था गरी प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छु ।

१५७. “एक प्रदेश निर्वाचन क्षेत्र, एक नमूना विद्यालय” कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा ९ वटा विद्यालयमा सुविधासम्पन्न भवन निर्माण गर्न रू. ६ करोड ३० लाख विनियोजनगरेको छ। प्रदेशभित्रका सामुदायिक क्याम्पस तथा विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला विस्तार गर्न बजेट विनियोजन गरेको छु ।

१५८. नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि महाकाली मा. वि. वेलौरीमा निर्माणाधीन सुविधायुक्त आवासीय विशेष विद्यालय भवनको लागि रू. ३ करोड विनियोजन गरेको छु। कैलाली जिल्लामा अटिजम भएका बालबालिकाको हेरचाह तथा सिप सिकाइका लागि गैर सरकारी संघ संस्था तथा स्थानीय तहसँगको साझेदारीमा स्याहारसुसार केन्द्र स्थापना गर्न रू. ३० लाख विनियोजन गरेको छु।

१५९. फरक क्षमता भएका बहिरा विद्यार्थीका लागि शिक्षामा सहज पहुँच पुयाउन दक्षिणकाली आधारभूत विद्यालय बेला, कैलालीमा रहेको बहिरा स्रोतकक्षामा अध्ययनरत बालबालिकाको लागि छात्रावास भवन निर्माण गर्न रू. ९० लाख बजेट विनियोजन गरेको छु।
१६०. सामुदायिक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्न , शौचालय निर्माण र छात्राहरूका लागि हाइजेनिक स्यानिटरी प्याड वितरण तथा सरसफाई व्यवस्थापनमा सहयोग गर्न रू. ७ करोड ३१ लाख विनियोजन गरेको छु ।

१६१. स्थानीय तहमा सञ्चालित “विद्यालय नर्स कार्यक्रम“लाई नजिकका अन्य विद्यालयमा पनि सोही जनशक्तिबाट सेवा दिने गरी विस्तार गर्ने व्यवस्था मिलाएको छु। यसबाट किशोर किशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम थप प्रभावकारी बन्ने आशा गरेको छु।

१६२. शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको पेशागत क्षमता विकास कार्यक्रम अन्तरगत अनुभव तथा सिकाइमा आधारित सेवाकालिन तालिम, अनुसन्धानमा आधारित शिक्षण सिकाइ र सूचना प्रविधिमा आधारित तालिम कार्यक्रम सञ्चालन गर्न रू. १ करोड ४७ लाख विनियोजन गरेको छु ।

१६३. “मेरो विशेषज्ञताः मेरै प्रदेशका लागि“ भन्ने नाराका साथ गरीब, विपन्न, शहीद परिवार, अपाङ्ग, महिला, दलित, सिमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, प्राविधिक शिक्षा र चिकित्सा शिक्षातर्फको एम.बि.बि.एस. र एम.डी. अध्ययन गराउनका लागि सुरु गरिएको छात्रवृत्ति कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु। यसका लागि रू. ३ करोड ५२ लाख विनियोजन गरेको छु ।

१६४. “एक जिल्ला एक नमूना क्याम्पस“ कार्यक्रम अन्तर्गत नमूना क्याम्पसको रुपमा स्तरोन्नति गर्न छनौट भएका अछाम बहुमुखी क्याम्पस मंगलसैन, महाकाली बहुमुखी क्याम्पस बेलौरी, घोडाघोडी बहुमुखी क्याम्पस सुखड, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा परशुराम, केदारज्योती पुञ्ज बहुमुखी क्याम्पस विपीनगर, दार्चुला बहुमुखी क्याम्पस महाकाली, सुनकुडा क्याम्पस बित्थडचिर, बाजुरा क्याम्पस मार्तडी बडिमालिका र जगन्नाथ बहुमुखी क्याम्पस बैतडीको क्षमता विकास र संस्थागत सुधारका लागि रू. १ करोड ८० लाख विनियोजन गरेको छु ।
१६५. आगामी वर्षदेखि कक्षा १० को अन्तिम परिक्षा (एस.ई.ई.) सञ्चालन तथा व्यवस्थापन प्रदेश स्तरबाटै गर्न प्रदेश परीक्षा बोर्ड स्थापना र परिक्षा सञ्चालन लगायतका कामका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

१६६. संघीय सरकारको विशेष अनुदानमा कैलाली बहुमुखी क्याम्पस धनगढी, डोटी बहुमूखी क्याम्पस डोटी, अमरगढी बहुप्राविधिक शिक्षालाय डडेल्धुरा, लम्कीचुहा सामुदायिक अस्पताल कैलाली र बेतकोट अस्पताल कञ्चनपुरको भवन निर्माण गर्नका लागि रू. ४८ करोड ८३ लाख विनियोजन गरेको छु ।

१६७. संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा ठूला विद्यालय निर्माण कार्यको लागि छनौट भएका ३ वटा विद्यालय कान्ति राज्यलक्ष्मी मा.वि. घोडाघोडी कैलाली, महेन्द्र मा.वि. खलङ्गा, दार्चुला र हिमालय मा.वि. साँफेबगर अछामको भौतिक पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षका लागि रू. ३ करोड विनियोजन गरेको छ। १६८. शिक्षा क्षेत्रको गुणस्तर सुधार, आधुनिक पूर्वाधार र शैक्षिक जनशक्तिको ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्न “प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम” अन्तर्गत कूल रू. १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छु ।

प्रतिकृया दिनुहोस्