काठमाडौं । प्रदेश ५ का सामुदायिक विद्यालयहरुले कोभिड–१९ को महामारीका बीचमा सिकाइ निरन्तरताका लागि विभिन्न वैकल्विक विधि अपनाएका पाइएको छ । विद्यालयहरुले सिकाइ निरन्तरताका लागि आफ्नै क्षमता, परिवेश र अवस्था अनुसारका जुक्ति लगाएको देखिन्छ ।

सामुदायिक विद्यालय शिक्षा सुधार समाज प्रदेश ५ ले आयोजना गरेको प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालयका उम्दा अभ्यास र कोभिड–१९ को महामारीका बीच वैकल्पिक सिकाइका लागि गरेका प्रयत्नका सम्बन्धमा भर्चुअल अन्तक्र्रियामा विद्यालयहरुले आफुले गरेका फरक फरक अभ्यासका बारेमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा प्रदेश ५ का उत्कृष्ट भनिएका ५ सामुदायिक विद्यालयको उपलब्धी र वैकल्पिक सिकाइका अभ्यासका बारेमा प्रस्तुतीगरिएको थियो ।

सामुदायिक विद्यालय शिक्षा सुधार समाज प्रदेश ५ का अध्यक्ष तथा नवीन औद्योगिक कदरबहादुर रितामाविका प्रअ प्रेमबहादुर बस्नेतले राम्रा विद्यालयका असल अभ्यास र वैकल्विक सिकाइका लागि उनीहरुले अपनाएको जुक्ति प्रदेशभर विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सामुदायिक विद्यालयलाई कसरी राम्रो गर्न सकिन्छ र आफूले गरेका राम्रा अभ्यासहरुको विस्तार गर्ने उद्देश्यले स्वयं शिक्षक र प्रधानाध्यापकहरु नै समाज बनाएर क्रियाशिल हुनु सकारात्मक कुरा भएको बताए ।

आफु मन्त्री भएपछि प्रदेश भित्रका विभिन्न सामुदायिक विद्यालयहरुको स्थलगत अवलोकनमा गएको र त्यहाँ हेर्दा सार्वजनिक विद्यालय विस्तारै सुदृढीकरणतर्फ उन्मुख पाएको मन्त्री बरालले बताए । आफु पुग्न नपाएका विद्यालयहरुका पनि राम्रा अभ्यास र मिहिनेत यस कार्यक्रममा हेर्न पाएको उनले स्पष्ट पारे । प्रदेशभित्र झण्डै असी प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएकाले समग्र शिक्षाको सुधारका लागि पहिले सार्वजनिक विद्यालयको सुदृढीकरण हुनुपर्नेमा उनको जोड थियो ।

सार्वजनिक शिक्षाको सुधारका लागि प्रदेशले बजेटमा पनि विभिन्न छात्रवृत्तिलगायतका कार्यक्रम ल्याएको र आगामी वर्षहरुमा पनि शिक्षामा वजेट बढाउँदै लग्ने मन्त्री बरालले प्रतिबद्धता जनाए । सामुदायिक विद्यालय कमजोर भन्ने सोच पुरानो भइसकेको र पछिल्ला दिन सामुदायिक विद्यालयको स्तर उम्दा बन्दै गएको भन्दै उनले धेरै सामुदायिक विद्यालय पछिल्ला दिन नामचलेका र राम्रा भनिएका संस्थागत विद्यालयलाई चुनौती दिन सफल रहेका बताए ।

शिक्षाविद् प्रा. आनन्दमानसिंह शाक्यले अब कोभिड–१९ को माहामारी पछिको पठनपाठन र शैक्षिक सत्रको पूर्णताका लागि विद्यालयहरु तयारीमा जुट्नुपर्ने बताए । अन्यअभ्यास पनि राम्रो र लकडाउनको अवस्थामा पनि राम्रै काम गरेका सामुदायिक विद्यालयहरुले अब कसरी अगाडि बढ्ने भनेर पाठयोजना र शैक्षिक योजना निर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो ।

शिक्षाविद् प्रा. रामलाल श्रेष्ठले लकडाउनको अवधिमा सामुदायिक विद्यालय र शिक्षकहरुले सिकाइ निरन्तरताका लागि गरेका प्रयत्न र अभ्यास प्रशंसनीय रहेको बताए । विद्यालयहरुको अभ्यास र अवस्था हेर्दा अब सामुदायिक विद्यालयका पक्षमा रहेका आम मानिसको धारणामा परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।

सामुदायिक विद्यालय नगरेरै बिग्रिएको हो र गरे हुने रहेछ भन्ने कुरा विद्यालयको प्रस्तुतिले स्पष्ट पारेका उनले बताए । शिक्षक र विद्यालय परिवार इमान्दारीतापूर्व खटे सामुदायिक विद्यालयलाई निश्चित स्थानसम्म लग्नसक्छौं भन्ने कुरा प्रमाणित भएको उनको भनाइ थियो ।

शिक्षाविद् डा. नारायण बेलवासेले विद्यालयहरुले इनपुट र प्रोसेसमा बढी मिहिनेत गरेपनि आउटपुट प्रति अझै सचेत नभएको पाइएको बताए । जुन विद्यालयमा प्रअको नेतृत्व राम्रो छ, सुशासन, उत्तरदायी र पारदर्शी व्यवस्थापन छ त्यहाँ राम्रो भएको पाइएको भन्दै शिक्षाविद वेलवासेले कोभिड–१९ का समयमा प्रविधिको पहुँच नभएका बालबालिकाहरुका लागि के गर्ने भन्नेमा सबै लाग्नुपर्ने बताए ।

सामुदायिक विद्यालय शिक्षा सुधार समाजका केन्द्रिय अध्यक्ष भिमप्रसाद पोखरेलले सामुदायिक विद्यालय माथिको दवदवा कम गर्न र सिकाइ सुधारका लागि सामुहिक प्रयास र प्रयत्न जुटाउन समाज गठन गरिएको बताए । समाजको ५ नम्बर प्रदेश समितिले आयोजना गरेको राम्रा विद्यालयहरुको असल अभ्यासको प्रस्तुतिले अन्यविद्यालयमा पनि त्यसको विस्तार र सिकाइ सुधारमा महत्वपूर्ण हुने उनको भनाइ थियो ।

विद्यार्थीलाई गृहकार्यसहितको प्रिन्टेड सामग्री बाड्दै ज्ञानोदय मावि


ज्ञानोदय मावि खजुरा–३, बाँकेका प्रअ ऋषिराम सापकोटालेकोरोना महामारीका कारण विद्यालय बन्द रहेपनि पाठ्यपुस्तक तथा वैकल्पिक सिकाइ सहजीकरण पुस्तिका विद्यार्थीको हातहातमा पुर्याउने काम गरेको बताए । यस्तै, विद्यालयले सिकाइ निरन्तरताका लागि गृहकार्यसहितको प्रिन्टेड सामग्री विद्यार्थीको हातहातमा पुर्याएको प्रअ सापकोटाले जानकारी दिए । कक्षागत ग्रुप म्यासेन्जर बनाएर सिकाइ सामग्री आदानप्रदान, जिज्ञासा र जवाफ कार्यक्रम तथा जुमबाट वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

प्रअ सापकोटाका अनुसार २०३४ सालमा स्थापना भएको विद्यालयमा हाल १३५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हाल अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन हुने साथै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छ । यस्तै, ९ देखि १२ सम्म सिभिल इञ्निियरिङ विषयमा प्राविधिक शिक्षा सञ्चालनमा छ ।

विभिन्न कारणले शिक्षा छाडेकाहरुलाई शिक्षाको मूलधारमा ल्याउने अभिप्रायका साथ विद्यालयले ६ देखि १० कक्षा सम्म खुला विद्यालय ररुम टु रिड द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम पनि कक्षा ६–१२ सम्म सञ्चालनमा रहेको उनले जानकारी दिए ।

टोलटोलमा शिक्षक खटाउँदै सिद्धबाबा मावि


सिद्धवावा मावि रेसुंगा–८, तम्घास गुल्मीका प्रअ डोरविक्रम श्रीसले कोरोना महामारीको समयमा विद्यालयले सिकाइ निरन्तरताका शिक्षकलाई टोलटोलमा खटाएको बताए । अनलाइन कक्षा शुरु गरेपनि प्रभावकारी नभएपछि विद्यालयले तेलिफोन सिकाइ र टोलटोलमा शिक्षक पठाएर अध्ययनलाई निरन्तरता दिएको उनले जानकारी दिए । शिक्षकहरु हप्तामा दुईपटक टोलमा पूग्ने र पहिलोपटक सिकाइ सँगै वर्क सिटमा काम दिने र पछि जाँदा त्यसको परिक्षण र जिज्ञासा मेट्ने काम गर्ने प्रअ श्रीसले बताए । विद्यालयले प्रत्येक शिक्षकलाई ल्यापटप उपलब्ध गराएको उनले जानकारी दिए ।

२०४८ सालमा स्थानीयहरुले बचतघर भन्ने पौवामा स्थापना गरेको विद्यालय २०४९ मा निमावि, २०५४ मा मावि तह र २०६१ सालमा उच्चमावि तहमा परिणत हुँदै गएको प्रअ श्रीसले बताए । अङ्ग्रेजी माध्यम, शिक्षा, व्यवस्थापन, मानविकी र कानून संकायको अध्ययन, कक्षा ९ देखि कम्प्युटर इञ्जिनियरिङ र कक्षा १ देखि नै कम्प्युटर विज्ञान विषयको अध्यापन हुँदै आएको छ । विद्यालयमा जिल्लाकै बढी विद्यार्थी १५०२ जना अध्ययनरत रहेका उनले जानकारी दिए ।

बालकल्याण माविः फोनबाट भर्ना, फेसबुकबाट नतिजा, रेडियो र युट्युवबाट कक्षा

बालकल्याण नमूना मावि लिवाङ रोल्पाका प्रअ मधुसुदन पोखरेलले विद्यालयले लकडाउन लगत्तै स्थानीय सत्प्रयास समुहको अगुवाईमा विद्यालयका विज्ञ शिक्षकहरुलाई परिचालन गरि रोल्पाका सवै सात वटा एफएम–रेडियो र युट्युव च्यानलमार्फत १ महिने दुर शिक्षा कार्यक्रम संचालन गरेको बताए । त्यसपछि असार १ गते देखि हालसम्म विद्यालयले नियमितरुपमा स्थानीय तहसँग समन्वय गरि रेडियो शिक्षा र जुममार्फत भर्चुअल कक्षा सञ्चालन गरिरहेको पोखरेलले जानकारी दिए ।

लकडाउनको बेला महामारीलाई मध्यनजर गर्दै विद्यालयको वेवसाईट र फेसबुक पेज मार्फत नतिजा प्रकाशन, विद्यालयका शिक्षक परिचालन गरि फोन मार्फत विद्यार्थी लगत संकलन र भर्ना कार्यक्रम संचालन गरिएको उनले जानकारी दिए । घरमा बसेका बालबालिकालाई सिकाइसँग जोड्न यथेष्ट सामाजिक दुरी कायम गरि कक्षागत समयतालिका अनुसार पाठ्यपुस्तक र छात्रबृत्ति उपलब्ध गराएको प्रअ पोखरेलले स्पष्ट पारे ।

२०२३ सालमा स्थापित विद्यालयको कक्षा ५ सम्म ६७.२३, आधारभूत तह कक्षा ८ सम्म ६४.६९ र माध्यमिक तह इसईईमा औषत २.६१ जिपिए सिकाइ उपलब्धि रहेको छ । हाल विद्यालयमा २५४८ विद्यार्थी र ६४ शिक्षक रहेका प्रअ पोखरेलले जानकारी दिए । विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यम, विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा संकाय सञ्चालन, प्राविधिक एसएलसी र डिप्लोमा तहमा तर्फ सिभिल ओभरसियर र अपाङ्गता भएका विद्यार्थीका लागि छुटै कक्षा तथा खुला विद्यालय सञ्चालनमा रहेको उनले जानकारी दिए । विद्यालयले टोल फ्रि नम्बर सञ्चालनमा र ४० विद्यार्थीलाई वर्षभरी आवासिय निशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

कालिका मानवज्ञानले लडडाउनमा पनि रोकेन पठन–पाठन


कालिका मानवज्ञान मावि बुटवलले कोभिड–१९ का कारण चैत्र ११ गतेदेखि लकडाउन भएपछि एसईईका विद्यार्थीलाई लक्षित गर्दै चैत्र १९ गतेदेखि बुद्ध टेलिभिजनमार्फत् पठनपाठनलाई नियमितता दिन शुरु गरेको थियो । लगत्तै रिड नेपालको सहयोगमा विद्यालयले बैशाख २२ देखि लुम्विनी टेलिभिजनमार्फत् कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका लागि दुईमहिना पठनपाठन गरेको का प्रअ विष्णुहरि ज्ञवालीले बताए ।
यस्तै, जेठ १७ गतेदेखि आवश्यक सुरक्षा सावधानीका नियम पूर्ण रुपमा पालना गरी कक्षागत रुपमा समय तालिका बनाई कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक वितरण गरिएको प्रअ ज्ञवालीले जानकारी दिए । यस्तै, नर्सरीदेखि कक्षा १२ सम्म विभिन्न अनलाइनका माध्यमबाट निरन्तर कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए । विद्यालयले नयाँ शैक्षिक सत्रमा पाठ सक्न साउन ११ देखि १३ गतेसम्म वार्षिक योजना निर्माण र शिक्षकहरुका लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको प्रअ ज्ञवालीले जानकारी दिए ।

२०१८ सालमा स्थापना भएको विद्यालय २०२९ सालमा निमावि, २०३२ मा मावि र २०६५ सालमा उच्चमाविको अनुमति पाएको हो । कालिका र मानवज्ञान मावि मर्ज भएर कालिका मानवज्ञान बनेको विद्यालयमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान, मानविकी, कानून र कम्प्युटर इञ्जिनियरिङ संकाय सञ्चालनमा रहेको प्रअले ज्ञवाललीले बताए । विद्यालयले उत्कृष्ट बन्दै ५ पटक राष्ट्रिय ध्वजा र एक पटक अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको छ । हाल विद्यालयमा ७०८३ विद्यार्थी तथा २६५ शिक्षककर्मचारी छन् ।

पद्मोदय पब्लिक नमूना माविको सिकाइ निरन्तरता दिने यो काइदा

पद्मोदय पब्लिक नमूना मावि भरतपुर, दाङले विद्यार्थीहरुलाई अनलाइन कक्षाकामार्फत विषयगत सिकाइ निरन्तरता दिइरहेको छ । यस्तै, ४ रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालन गरिएको प्रअले रामप्रसाद जैसीले जानकारी दिए । शिक्षकहरुलाई विषयगत र प्रविधियुक्त सिकाइ तालिम निरन्तर सञ्चालन गरिरहेको प्रअ जैसीले बताए । कोभिड–१९ लक्षित शैक्षिक योजना निर्माण र त्यसका लागि आवश्यक शैक्षिक सामग्री निर्माण गरिएको उनले जानकारी दिए ।

२००४ सालमा स्थापना भएको यस विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमा अध्यापन, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सञ्चालन, प्राविधिक धारतर्फ कक्षा ९ देखि नै कम्प्युटर इञ्जिनियरिङ अध्यापन हुने गरेको छ । यस्तै, इलेक्ट्रिकल इञ्जिनियरिङ र अटोमोवाइल सञ्चालनमा छ । हाल विद्यालयमा ४०६६ विद्यार्थी अध्ययनरत र १४६ शिक्षककर्मचारी रहेका प्रअ ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्