काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले सामुदायिक विद्यालयलाई पहिलो रोजाइको विद्यालय बनाउन महानगर लागिरहेको बताएकी छन् । यसकालागि विशेष कार्यक्रम ल्याइनेसमेत उनले स्पष्ट पारिन् ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पद्मकन्या विद्याश्रम मावि डिल्लीबजारमा आयोजना गरिएको अन्तर्विद्यालयस्तरिय चित्रकला प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख खड्गीले सार्वजनिक शिक्षाको सुधारक लागि महानगर निरन्तर प्रयासरत रहेको बताएकी हुन् ।

सार्वजनिक शिक्षामा सुधार नगरी समृद्ध नेपालको सपना साकार नहुने भन्दै महानगरको ध्यान अब सार्वजनिक शिक्षाको आमूल सुधारमा केन्द्रित हुने उनले बताइन् । ‘सार्वजनिक विद्यालयमा भर्ना नपाए पछि मात्रै निजी विद्यालयमा जाने अवस्था सिर्जना गर्ने गरी अगाडि बढ्ने हो’– उपप्रमुख खड्गीले भनिन्, ‘समय लाग्ला तर सम्भव पारेरै छाड्छौं ।’ महानगरले शिक्षा र स्वास्थ्यमा योजनाबद्ध लगानी बढाउँदै लग्ने उपप्रमुख खड्गीले जानकारी दिइन् ।

कार्यक्रममा जागरण नेपालकी अध्यक्ष सम्झना पोखरेलले पूर्णविश्वास र मिहिनेतले सफलता मिल्ने भन्दै विद्यार्थीहरुलाई पूर्ण विश्वास र मिहिनेतका साथ शिक्षण सिकाइ गर्न आग्रह गरिन् । आजका विद्यार्थी भोलिका कलाकार, बैज्ञानिक, राष्ट्रनायक भएका भन्दै विद्यालयहरुको सुधारले भोलिको देशको मुहार फेरिने बताइन् ।

पद्मकन्या विद्याश्रम माविकी प्रधानाध्यापक रिता तिवारी हुमागाईले विद्यालयले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई महत्व दिएको बताइन् । विद्यालयले अतिरिक्त क्रियाकलाप विभाग नै गठन गरेर विभिन्न खेलकुद र कलाप्रतिभाहरुको विकासमा काम गरिरहेको उनको भनाइ थियो ।

अन्तरविद्यालयस्तरिय चित्रकला प्रतियोगितामा कामाडौं महानगरपालिकाको वडा नम्बर २९ अन्तर्गतका ९ विद्यालयहरु सहभागि रहेका थिए ।

जागरण नेपाल, रोटरी क्लव डिल्लीबजर, विद्यालय व्यवस्थापन समिति महासंघको संयुक्त आयोजनामा सम्पन्न अन्तर्विद्यालयस्तरिय चित्रकला प्रतियोगितामा डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमकी जल्सा कोइराला प्रथम भएकी थिइन् । यस्तै, महांकाल माविकी छात्रा सरस्वती चौधरीले कोरेको चित्रले दोस्रो स्थान हासिल गरेको छ । पद्योदय माविकी छात्रा प्रश्मी खकुरेलले बनाएको चित्रले तेस्रो स्थान हासिल गरेको छ । पद्मकन्याकै हिरा थापा र संस्कृत माविकी विजु थापाले कोरेका चित्रहरुले सान्त्वना पुरस्कार हासिल गर्न सफल भए ।

विजयी छात्राहरुलाई नगर उपप्रमुख हरिप्रभा खड्गीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेकी हुन् । विद्यार्थीहरुले ‘महिला सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने विषयमा आधारित रही चित्रकोरेका थिए ।

प्रतिकृया दिनुहोस्