काठमाडौँ । सडकमा आन्दोलनरत् नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुने दोहोर्याएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै महसंघले कुनै पनि हालतमा कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई अपिल गरेको हो ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा चलाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की आएको समेत जिकिर गरिएको छ ।
वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुदैछ । परीक्षा हुने केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रकियामा सामेल हुन दबाब आएको महसंघको भनाइ छ ।
विगत २१ दिन देखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन भइरहेको बेला उक्त परीक्षामा सामेल नहुन भनेको हो । केन्द्राध्यक्षलाई समेत काठमाडौँमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।