काठमाडौं । निजी विद्यालयहरुले सरकारको निर्णयलाई लत्याउँदै अभिभावकलाई लकडाउन अवधिकोसमेत शुल्क बुझाउन भनेपछि विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्न प्याब्सन र एन प्याब्सनको संयुक्त अपिल प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उक्त आह्वानको घोर भत्सर्ना गरेको छ । यस्तै, गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निजी विद्यालयलाई शुल्क नतिर्न अभिभावक र विद्यार्थीसँग संगठनले आग्रह गरेको छ ।

सोमवार अनेरास्ववियुका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अव्यवहारिक र असान्दर्भिक निर्णय फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनैपनि शीर्षकमा शुल्क नअसुल्न निजी विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएका हुन् ।

विषय परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावकहरुले बोहोरिरहेको संकटलाई पूर्ण रुपमा वेवास्ता गर्दै एकातर्फी रुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ– विज्ञप्तिमा भनिएको छ ।

यसअघि निजी विद्यालयहरुका छाता संगठन प्याब्सन र एन प्याब्सनले लकडाउन अवधिभरको शुल्क समेत तिर्न अभिभावकहरुलाई आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस्