जब विद्यार्थीहरुले सामुदायिक विद्यालयमा पढ्न पाएकोमा गर्व गरे

शिवपुरी माविमा महानगरस्तरिय स्टिम प्रदर्शनी

Avatar photo

Byएजुकेशन पाटी

३० भाद्र २०८०, शनिबार


काठमाडौं। कतै काठमाडौंको सांकृतिक सम्पदाको जगेर्नाको जुक्ति, कतै सवारी जाम हटाउने ट्राफिक व्यवस्थापनका उपाय । कतै पार्किङ व्यवस्थापनका सुझाब त कतै उपत्यकाका फोहोर व्यवस्थापनका प्रविधि ।

एकातिर खानेपानी शुद्ध पार्ने विधि, अर्कोतिर उपत्यकाको ध्वनि र वायु प्रदुषण कम गर्ने प्रविधि, कतै कला र संस्कृति जगेर्नाका कुरा, कतै प्राकृति विपत्तीबाट बच्ने उपाय पूरा । त्यहीं सूचना, प्रविधि र विज्ञानका ज्ञान, साथै कला, संस्कृति, भाषा, धर्म र ध्यान । एकातिर हेर्दा हाइड्रो पावर, सुरुङमार्ग, मेट्रोरेलका डिजाइन, अर्कोतर्फ हेर्दा रोबर्ट, ड्रोन र कृषि औजार प्रदशृन गरिरहेका विद्यार्थीको लाइन ।


यी दृश्य शिवपुरी मावि महाराजगञ्जमा शुक्रबार आयोजना गरिएको महानगरस्तरिय प्रतियोगात्मक स्टिम(STEAM) प्रदर्शनीको हो । जहाँ विद्यार्थीहरुले सूचना, विज्ञान प्रविधि, गणित, इञ्जिनियरिङ, कलालगायत विषयसँग सम्बन्धित प्रदर्शनी गरेका थिए ।

उनीहरुले ती विषयसँग सम्बन्धित रहेर तयार पारेका विभिन्न परियोजना कार्यहरुको विशेष प्रदर्शनी गरिएको थियो । काठमाडौ महानगर पालिकाका शिक्षा प्रमुख सिताराम कोइरालाले उद्घाटन गरेको कार्यक्रममा महानगरभित्रका ३५ विद्यालय सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागिता रहेको थियो । विद्यार्थीहरुको त्यस प्रदर्शनीलाई ३ जनाको स्वतन्त्र निर्णायक समितिमार्फत् मूल्यांकन गरिएको थियो । साथै, उत्कृष्ट सामग्री तयार पारी प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरुलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो ।

कार्यक्रममा सरकास्वती निकेतन मावि कालिमाटी प्रथम हुँदै २० हजार रुपैयाँ नगदसहित पुरस्कृत भएको थियो भने भानु मावि रानीपोखरीले द्वितीय हुँदै १५ हजार नगदसहित पुरस्कार हात पारेकमो थियो । यसैगरी तृतीय भएको शिवपुरी मावि महाराजगञ्जले १० हजार र विश्वनिकेतन मावि त्रिपुरेश्वरले ५ हजार रुपैयाँ नगदसहितको सान्त्वना पुरस्कार हात पारेको थियो ।

काठमाडौं महानगरले लागू गरेको बुक फ्रि फ्राइ डे अन्तर्गत आयोजित उक्त कार्यक्रमलाई हजार बढी विद्यार्थी, शिक्षक, अभिभावक एवं सरोकारवालाहरुले अवलोकन गरेका थिए । अवलोकनकर्ता प्रायः विद्यार्थीहरु कार्यक्रमबाट धेरै कुरा सिक्न पाएकोमा मख्ख देखिन्थे । सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि विज्ञान प्रविधि, इञ्जिनियरिङ र गणित विषयसँग सम्बन्धित यति राम्रा सामग्री तयार गर्न सक्दा रहेछन् भन्दै अभिभावकहरु पनि दंग देखिन्थे ।

प्रायः विद्यार्थीहरुले कार्यक्रम अवलोकन पश्चात् आफूहरु सामुदायिक विद्यालयमा पढ्न पाएकोमा गर्व लागेको बताएका थिए । ‘हामीलाई कुनै हीनतावोध छैन, सामुदायिक विद्यालयको विद्यार्थी हो भन्दा गर्व महसुस भएको छ ।’ अधिकांश विद्यार्थीहरुको यस्तै धारणा थियो ।

कार्यक्रम अवलोकन पश्चात् काठमाडौं महानगरका वडानम्बर ३ का वडाध्यक्ष प्रेम थापाले विद्यार्थीको सिकाइ किताब र कक्षाकोठामा मात्रै सीमित भइरहेको अवस्थामा बुक फ्रि फ्राइ डे र यस्ता शैक्षिक सामग्री प्रदर्शनीले सिकाइको दायरालाई अझ बढी फराकिलो पार्दै लग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले यस्ता सिकाइ सामग्रीको प्रदर्शनीले विद्यार्थीको सिर्जनशीलता र रचनात्मकता बढ्ने भन्दै उनीहरुको सिकाइको दायरा थप फराकिलो बन्ने बताए । विभिन्न विद्यालयका फरक प्रस्तुतीले विद्यार्थीहरुले एक आपसमा सिक्ने, हेर्दे गर्दै सिक्ने तथा किताब बाहिर पनि सिकाइ हुन्छ भन्ने कुरा महसुस गर्ने अवसर पाएको उनको भनाइ थियो ।

साथै, शिवपुरी क्याम्पसका प्रमुख दिवाकर दूरदर्शीले विदार्थी भित्र अथाह प्रतिभा हुने भएकाले यस्ता कार्यक्रमले ती प्रतिभा प्रस्फुटनको अवसर पाउने धारणा राखे । शिवपुरी माविका विव्यस अध्यक्ष गिरिधर मिश्रले सामुदायिक विद्यालयका विद्यार्थी पनि कोही भन्दा कम नरहेका र यस्ता कार्यक्रमले उनीहरुको सिर्जनशीलता र रचनात्मकता प्रस्फुटन हुने अवसर पाउने बताए ।

प्रतिकृया दिनुहोस्