काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको ४ दशमलव ६३ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गत वर्षभन्दा दोब्बर धेरैले ४ ग्रेड ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

२०७९ गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीकासहित ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए। प्राविधिकतर्फ १५ हजार चार सय ६१ परीक्षार्थी थिए।

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्