काठमाडौ । अब कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कक्षा १० को अन्तिम परीक्षा विद्यालयले नै लिने प्रस्ताव गरिएको हो ।

विधेयकमा आधारभूत तह कक्षा ८ को परीक्षा स्थानीय सरकारले लिने र विद्यालय तहको अन्तिम परीक्षा अर्थात् कक्षा १२ को परीक्षा मात्रै संघीय सरकार अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले लिने प्रस्ताव गरिएको छ । विधेयकको परिच्छेद ४ मा उल्लेख परीक्षा सञ्चालन तथा व्यवस्थापन अन्तरगत माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा परीक्षा बोर्डबाट र आधारभूत तह उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ ।

विधेयकको परिच्छेद ४ को दफा २७ मा परीक्षा सञ्चालन तथा व्यवस्थापनको उपदफा १ मा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा परीक्षा बोर्डबाट र आधारभूत तह उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुनेछ ।’भन्ने उल्लेख छ ।

यो व्यवस्थाको प्रस्ताव गरिएसँगै अब विधेयक जस्ताकोतस्तै पारित भएमा कक्षा १० मा एसईई रहने छैन ।२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गर्दै विद्यालय तहको अन्तिम कक्षा १२ हुने व्यवस्था गरे पनि एसएलसीको जस्तै पुरानै शैलीमा कक्षा १० को अन्तिम परीक्षा एसईईको नामबाट सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्