एसइईको लब्धांक असारमै

Avatar photo

Byएजुकेशन पाटी

३० जेष्ठ २०७७, शुक्रबार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको लब्धांक असारभित्र उपलब्ध गराउने तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस वर्षको परीक्षा नलिएर आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले असारभित्रै उपलब्ध गराउने तयारी थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीले असार महिनाभित्र आफ्नो लब्धांक प्राप्त गर्ने गरी मन्त्रालयले सबै तयारी गरिरहेको समेत बताए । अन्तिम समयमा कोरोनाका कारण परीक्षा रोकिँदा करिब पाँच लाख विद्यार्थी अन्योलमा परेका थिए । बुधबारको बैठकले परीक्षा नलिने निर्णय गरेको हो । नेपालमा एसएलसी (पछि एसइई) को ८६ वर्षको इतिहासमा यो पहिलो घटना हो ।

मन्त्री पोखरेलले हालको निर्णय यो वर्षको विशेष परिस्थिलाई हेरेर गरेको र यसको दीर्घकालीन समाधानको उपायमा समेत मन्त्रालय लागेको बताए । ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने कार्यविधि बन्दै छ,’ मन्त्री पोखरेलले भने ।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डले विधि र प्रक्रिया निर्माणबारे आन्तरिक तयारी गरिरहेको र मन्त्रालयको निर्देशन आउनसाथ काम सुरु गर्ने बताए । उनले कक्षा ११ को हकमा कुनै निर्णय नभएकाले भन्न नसकिने समेत जनाए । पौडेलका अनुसार एसइई नलिने निर्णय नै नौलो भएकाले यसबारेमा कार्यविधिबाट मात्र थप स्पष्ट हुनेछ ।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्