काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालन हुँदै छ । प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्‍याइसकेको परीक्षा नियन्त्रक श्रेष्ठले जनाए । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । उनका अनुसार ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।

विद्यार्थीले पढेको भन्दा फरक विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । कोरोनाकालमा विद्यार्थीले होमसेन्टरबाटै परीक्षा दिएका थिए । यस पटक दृष्टिविहीन विद्यार्थी र प्राविधिक धारतर्फका विद्यार्थीका लागि घरपायक केन्द्र कायम गरिएको नियन्त्रक श्रेष्ठले जनाए ।दृष्टिविहीन स्रोतकक्षामै उपकेन्द्र कायम गरिएको हो । स्रोतकक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा सञ्चालन गर्ने उनले बताए । ५५ जना दृष्टिविहीन विद्यार्थीले यसपालि एसईई दिँदै छन् । यसअघि दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो ।

त्यस्तै प्राविधिक धारतर्फ साढे १५ हजार विद्यार्थीले यस पटकदेखि घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । विगतका वर्षमा प्राविधिक धारका विद्यार्थीलाई जिल्ला सदरमुकामकेन्द्रित गरेर १/२ वटा परीक्षा केन्द्र तोक्ने गरिएको थियो । यस पटकदेखि साधारण धारका विद्यार्थीले परीक्षा दिने केन्द्रबाटै पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डले जापानमा पनि एउटा परीक्षा केन्द्र तोकेको छ । जापानको राजधानी टोकियोस्थित केन्द्रबाट १४ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अनुसार नेपाली पाठ्यक्रम अध्यापन हुने जापानका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

प्रतिकृया दिनुहोस्