काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।
‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयको भनाइ छ, ’ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयको भनाइ छ । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो ।प्रदर्शनकारी र सरकारी पक्षबीच भएको झडपमा अहिलेसम्म १०५ जनाको मृत्यु भइसकेको छ भने करिब १ हजार ५ सय विद्यार्थी घाइते भएका छन्।
अवस्था तनावपूर्ण बन्दै गएपछि भारतले पनि नेपाली विद्यार्थी फर्काउन सहयोग थालेको छ।भारतीय भूमि हुँदै नेपाल आउने विद्यार्थीलाई समन्वय गर्न भारतस्थित नेपाली दूतावासको आग्रह अनुसार विद्यार्थीसँग समन्वय गर्ने काम भइरहेको दुतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बताए। सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका हुन्।