काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र बीएडतर्फका नियमित र आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेसँगै सबै तहको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

‘विश्वविद्यालयले अन्तिम तहको कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसपछि पुसभित्रमा सकिने गरी अन्य तहको परीक्षा सञ्चालन गर्छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो । जाडो याममा परीक्षा गर्न असम्भव भएपछि त्रिविले पुसमा सकिने गरी कार्यतालिका तयार गरेको हो । अधिकांश क्याम्पसमा पुस १५ गतेदेखि जाडो बिदा हुने गरेको छ ।

यो वर्ष पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तयारी भइरहेको रजिस्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर र पुस महिनाभरि परीक्षा सञ्चालन गर्नेछौं ।

त्रिविले कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन । रजिस्ट्रार प्राडा दाहालका अनुसार सकभर भौतिकरुपमै उपस्थित भएर परीक्षा दिने व्यवस्था गरिएको छ । ‘कोभिड–१९ संक्रमण बढ्दै गए वैकल्पिक विधि पनि अपनाउन सकिन्छ, अहिले नै यो विषयमा छलफल गरिसकेका छैनांै।’ –उहाँले भन्नुभयो ।

त्रिविले पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । त्रिविले कोभिड–१९ को कारण सबै विद्यार्थी उपत्यका, सदरमुकाम, शहरमा आउन नसक्ने भएपछि घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भरिसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मानविकी, व्यवस्थापन, कानुन, शिक्षा र विज्ञान–प्रविधि संकायअन्तर्गत ४ लाख १५ हजार ४ सय ८२ जना विद्यार्थीको परीक्षा स्थगित भएको छ ।

सबै विद्यार्थीको परीक्षा सकिएपछि थप योजनाअनुसार पढाइ सञ्चालन गर्ने रजिस्ट्रार प्राडा दाहालले जानकारी दिनुभयो । विद्यार्थीलाई परीक्षामा सजिलै सहभागिता जनाउन पायक पर्ने केन्द्रबाट परीक्षा दिन सक्ने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

कोभिड–१९ का कारण चैतदेखि स्थगित परीक्षा सञ्चालन गर्न पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि विद्यार्थी संगठनले दबाब दिएको थियो । विद्यार्थीहरुको दबाबका कारण र अन्य विश्वविद्यालयले समेत अनलाइन माध्यमबाट परीक्षा सम्पन्न गरेपछि त्रिविले बाध्य भएर परीक्षा गर्न लागेको हो ।

त्रिविले इन्जिनियरिङ, चिकित्सा शिक्षा, कृषि र वनबाहेक सबै संकायको परीक्षा लिने भएको छ । ती संकायमा थोरै विद्यार्थी अध्ययन गरेकाले डीन कार्यालय आफैले परीक्षा सञ्चालन गरिरहेको छ ।

त्रिविले प्रवेशपत्र पनि अनलाइनबाट आफै विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरेको छ । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिविअन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो ।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्