बुटवल। स्थानीय सरकारहरुले संघीयता कार्यान्वयनका अनेक अभ्यास गरेका छन् । यस्तो अभ्यास शिक्षा क्षेत्रमा पनि भएको छ । नयाँ उदाहरण हो – बुटवल उपमहानगरद्धारा एकैपटक पाँच कक्षासम्मका स्थानीय पाठ्यपुस्तकहरु निर्माण ।

उपमहानगरले ‘हाम्रो बुटवल’ नामक पाठ्यपुस्तकहरु तयार गरेको हो । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा १ देखि ५ सम्मको नेपाली र अंग्रेजी भाषाका पाठ्यपुस्तक सार्वजनिक गरिए ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले पाठ्यपुस्तक सार्वजनिक गर्दै बुटवलमा अर्को नयाँ प्रगति भएको बताउनुभयो । उहाँले सबै स्थानीय तहहरुमध्ये पहिलो पटक स्थानीय पाठ्यक्रममा आधारित एक सय पूर्णाङ्कका पाँच कक्षासम्मका पाठ्यपुस्तक एकसाथ तयार गरिएको बताउनुभयो ।

केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका तर स्थानीय आवश्यकता भएका विषयलाई पाठ्यक्रममा समेटेर नयाँ शुरुवात गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रममा स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउदै तहगत रुपमा नैतिक शिक्षा र जन्मभूमिप्रतिको गौरवलाई पृष्ठपोषण गर्ने सामाग्री समेटिएका छन् ।

पाठ्यपुस्तकमा बुटवल सेरोफेरो, पर्यटकीय स्थलहरु, हाम्रो संस्कृति, हाम्रो आस्था, संघसंस्थाहरु, योग र प्राकृतिक चिकित्सा तथा जडीबुटीलगायतका विषयहरुलाई महत्व दिइएको छ ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि उपमहानगरले शिक्षाविद्हरुको संलग्नतामा विशेष कार्यदल गठन गरेको थियो । यी पुस्तक हरेक कक्षामा एक सय पूर्णाङ्कका छन् । अब यी पाठ्यपुस्तकहरु बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरुमा एकसाथ पढाइ हुनेछ । यसका लागि उपमहानगरपालिकाले विद्यालयका प्राचार्यहरुलाई अभिमुखीकरण गरिसकेको छ ।

कक्षा ६–८ का लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उपमहानगरका शिक्षा, स्वास्थ्य, तथा जनसंख्या प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले पञ्चवर्षीय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा थप व्यवस्थित गरी अगाडि बढाउने बताउनुभयो ।

दीपक ज्ञवालीले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्