काठमाडौँ । विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधि तथा मार्गदर्शन तयार गर्ने गृहकार्य सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यून या अन्त्य भएर विद्यालय पुनः सञ्चालन गर्ने अवस्थामा गरिनुपर्ने सावधानी तथा जिम्मेवारीको विषयलाई समेटेर कार्यविधि तयार गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासितको छलफलपछि छिट्टै नै यो कार्यविधिलाई अन्तिम रूप दिँदैछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना भाइरस अन्त्य भएर या कायमै रहेको अवस्थामा पनि विद्यालय पुनः सञ्चालन गर्नुपर्ने अवस्था आउने स्पष्ट गर्दै अब विद्यालय पुनः सञ्चालनमा आउँदा गर्नुपर्ने तयारीलाई समेटेर कार्यविधि बनाउन लागिएको जानकारी दिनुभयो ।

यसक्रममा केन्द्रले गाउँपालिका तथा नगरपालिका महासङ्घ, नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लगायतका शिक्षाका सरोकारवाला पक्षसित यस विषयमा सुझाव सङ्कलन गरेको छ ।

सरकारले जारी बन्दाबन्दीलाई केही खुकुलो मात्रै गरेको अवस्थामा केही स्थानीय तहमा विद्यालय सञ्चालन गर्न सकिने सम्भावना भएकाले विद्यालयहरूलाई काम गर्न सजिलो बनाउनका लागि यो कार्यविधि बनाउन लागिएको जनाइएको छ । विद्यालयमा क्वारेन्टाइन बनाइएका कारण पनि अब विद्यालयलाई कसरी सुरक्षित तरिकाले पुनः प्रयोग गर्न सकिन्छ भन्ने हिसाबले तयारी गर्नुपर्ने अवस्था रहेको निर्देशक गौतमले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन गर्दा क्वारेन्टाइन बनाइएका विद्यालय पुनः सञ्चालनमा ल्याउँदा धेरै सावधानी अपनाउनुपर्ने देखिएकाले विद्यालयलाई यस विषयमा सचेत गराउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्