सिन्धुपाल्चोक । डेस्क–बेन्च पहिलाजस्तो टाँसिएका छैनन् । कम्तीमा दुई मिटर दूरी राखिएको छ । एउटा बेन्चमा दुई छेउमा गरी जम्मा दुई विद्यार्थी बस्छन् । विद्यालय पोसाक लगएका उनीहरू निर्धक्क पढाइ गरिरहेछन् ।

कक्षामा छिर्नुअघि साबुन–पानीले राम्ररी हात धुन्छन् । शिक्षकलाई टाढैबाट नमस्कार गर्छन् । एकआपसमा छुँदैनन् । विद्यालयबाट छुट्नु र पस्नअुघि सेनिटाइजर लगाउनु अनिवार्य गरिएको हुन्छ । अहिले सातामा दुई दिन ३ घण्टा कक्षा हुन्छ । शिक्षक विद्यार्थीहरूलाई पाठ बुझाएर पर्याप्त गृहकार्य दिन्छन् ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थलीमा कोभिड–१९ संक्रमण रोक्न गरिएको लकडाउनमै निश्चित दुरी कायम गरेर अध्यापन थालिएको छ । सरकारले अनलाइन, टेलिभिजन र रेडियोजस्ता वैकल्पिक माध्यमबाट पढ्न निर्देशन दिए पनि घोर्थलीमा यस्ता माध्यम एकदमै न्यून रहेकाले विद्यालयमै पढाउन थालिएको वडाध्यक्ष कर्णबहादुर खड्काले बताए । ‘सिकाइ सहजीकरण अभियानअर्न्तगत तीनवटा विद्यालयलाई केन्द्र तोकेर ९ शिक्षक खट्नुभएको छ, हप्तामा दुई दिन ३ घण्टा संक्रमणबाट बच्ने हरसम्भव तरिका अपनाएर अध्ययन गराइन्छ,’ उनले भने ।

सेतीदेवी आधारभूत विद्यालय, कागेश्वरी मावि र सुन्दरीदेवी माविलाई केन्द्र तोकिएको छ । ‘शिक्षकहरू आफैं यसमा उत्साही देखिनुभएको छ, बालबालिका जाँगरिला बनेका छन्,’ शिक्षक ईश्वर दाहालले भने, ‘कुनै वैकल्पिक माध्यम नभएपछि वडा र गाउँपालिकाको सहजीकरणमा अध्ययनलाई निरन्तरता दिइएको हो ।’ बालबालिकालाई दिन पर्याप्त मास्क नभएकाले गाउँपालिकासँग माग गरिरहेको पनि उनले बताए ।

सरकारबाट प्रस्ट निर्देशन केही नआए पनि पढाइ थाल्न जनप्रतिनिधि तत्पर देखिएको र अभिभावक पनि सहमत रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीको भनाइ छ ।

हेलम्बु र इन्द्रावती गाउँपालिकाले पनि कोभिड–१९ अवधिका लागि शैक्षिक पुस्तिका बनाएर नयाँ शैक्षिक अभियान सुरु गर्ने जनाएका छन् । ‘इन्टरनेटबाट सुरु गर्न सबैतिर नेटवर्क सहज नहुने भएकाले सचेतना अपनाएर विद्यालयमै अभियान सुरु गर्दै छौं,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले शैक्षिक अभियान बनाएर अगाडि बढ्ने प्रस्ट्याए । ‘शैक्षिक पुस्तिका बनाएर अब पढाउन थाल्नेछौं,’ उनले भने ।

अनिश तिवारीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्