लम्की । कैलालीको घोडाघोडी नगरपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालय खाली भएपछि अहिले विद्यालय सरसफाइ गरी विद्यार्थी भर्ना, छात्रवृत्ति तथा पुस्तक वितरण कार्य शुरु गरिएको छ । घोडाघोडी-८ तारानगरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक सुबोधकुमार शर्माले असारको पहिलो सातासम्म क्वारेन्टाइनको रुपमा प्रयोग भएको विद्यालय खाली भएपछि अहिले सरसफाइ गरी विद्यार्थी भर्ना तथा पुस्तक वितरण कार्य शुरु गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विद्यार्थी भर्नासँगै पुस्तक वितरण पनि गर्ने भएकाले कोभिड-१९ लाई मध्यनजर गरेर भौतिक दूरी कायम गर्दै धेरै भिडभाड नहुनेगरी काम गर्ने व्यवस्था मिलाएका छौँ ।’ भिडभाड कम गर्नका लागि कक्षा १० लाई शुरुमा पुस्तक वितरण गरेको र क्रमसँग अन्य कक्षाका विद्यार्थीलाई पुस्तक वितरण तथा भर्ना गरिने उहाँले बताउनुभयो ।

उक्त नगरपालिकामा जेठको अन्तसम्म विद्यालयमा व्यवस्था गरिएका क्वारेन्टाइन भरिभराउ थिए । यहाँका ५१ वटा सामुदायिक विद्यालयमा करिब तीन हजार पाँच सय मानिस क्वारेन्टाइनमा रहेकोमा मापदण्ड पुगेका सबैलाई घर पठाएपछि विद्यालय खाली भएका हुन् ।

असार पहिलो हप्तामै करिब सबै विद्यालय खाली भएका थिए । विद्यालय खाली भएपछि विद्यालयको सरसफाइसँगै नगरपालिकाले शैक्षिक कार्यक्रम गर्न परिपत्र गरेपछि काम शुरु गरिएको हो । बाल ज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक भुपेन्द्र कुँवरले असार ६ गते विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाइ गरी आइतबारबाट विद्यार्थी भर्ना, पुस्तक वितरण तथा छात्रवृत्ति वितरण कार्य शुरु गरेको बताउनुभयो ।

घोडाघोडी नगरपालिकामा रहेका ५१ वटा विद्यालयमा आइतबारदेखि नियमित विद्यार्थी अभिलेख राख्ने, पुस्तक वितरण, छात्रावृत्ती वितरणलगायत कार्य शुरु गरिएको घोडाघोडी नगरपालिका शिक्षाशाखा प्रमुख उमेशराज रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरका एक दुई विद्यालयबाहेक सबै विद्यालय स्यानिटाइज भइसकेकोले चालु अर्थिक वर्षभित्र छात्रवृत्ति, पुस्तक वितरणलगायत विद्यार्थी अभिलेख गरिसक्न विद्यालयलाई परिपत्र गरिएको छ ।’

चाँदनी आचार्यले गोरखापत्रमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्