काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनको तयारी गरेको छ । मन्त्रालयले विद्यालय सञ्चालनको मोडलको नयाँ प्रस्ताव बनाएर कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा पेश गर्ने तयारी गरेको हो ।

कोभिड–१९ का कारण विद्यालयहरु लामो समय सञ्चालनहुन नसकेपछि मन्त्रालयले निर्दिेशिका जारी गरेर असार १ गते देखि वैकल्पिक पद्धतिको माध्यमबाट सिकाइ निरन्तरता कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

साथै, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त निर्देशिका कार्यान्वयनको प्रभावकारीता बारेमा रिपोर्ट लिन सातै परदेशमा सहसचिवहरुलाई जिम्मेवारी तोकेका थिए ।

सातै प्रदेशको जिमेवारी लिएका सहसचिवहरुले वैकल्पिक सिकाइ पद्धतिको प्रभावकारिता र विद्यालय सञ्चालनको अवस्थाका बारेमा सातै प्रदेशका निकायसँग भिडियो बैठक गरी सुझाब लिएका थिए ।

विहिवार शिक्षामन्त्रालयमा प्रदेशको जिम्मेवारी लिएका सहसचिवहरुसँग शिक्षामन्त्री पोखरेलले छलफल गरेका थिए । उक्त छलफलमा वैकल्पिक सिकाइ पद्धतिको कार्यान्वयनको प्रभावकारिता, समस्याहरू, निर्देशिकाले समेट्नु पर्ने विषय आदिमा समीक्षा भएको छ । प्रदेशहरुबाट विद्यालय पुनः सञ्चालन गर्नु पर्ने, वैकल्पिक सिकाइलाई शैक्षिक सत्रसँग जोड्नु पर्नेलगायतको सुझाब आएको सहसचिवहरुले शिक्षामन्त्रीलाई जानकारी गराएका थिए ।

प्रविधिले नसमेटेका, जोखिम कम भएका क्षेत्रहरुलाई शिल गरेर सामाजिक दुरी सहित विद्यालय खोल्न सकिने सुझाबहरु प्रदेशबाट आएका सहसचिवहरुले बताएका थिए ।

यस्तै, शैक्षिक सत्र के हुने, वैकल्पिक सिकाइ र शैक्षिक सत्रको सम्बन्ध, कक्षा १२ को परीक्षाका बारेमा पनि प्रदेशहरुले जिज्ञासा राखेका सहसचिवहरुले सुनाएका थिए ।

सबै ठाउँबाट आएका सुझावहरुलाई समेटेर मन्त्रालयले विद्यालय सञ्चालन, निर्देशिकामा सुधार, कक्षा १२ को परीक्षालगायतका विषयमा नयाँ प्रस्ताव कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लग्ने तयारी गरेको शिक्षामन्त्रीको सतिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्