सिमकोट । अन्ततः लामो समयको बन्दाबन्दीका कारण बन्द रहेका विद्यालयहरु खुलेका छन् । विद्यालय खुलेसँगै शिक्षक, विद्यार्थी र अभिभावकहरु हर्षित बनेका छन् ।

जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन–पाठन सुरु गर्दा विद्यार्थीको उपस्थिति उल्लेख्य देखिएको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुँदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

सो निर्णयलगत्तै छोटो सुचनाका अधारमा पठन–पाठन सुरु भएपनि विद्यार्थीको उपस्थिति भने बढी पाइएको हो ।

सीता माविमा कक्षा नौमा अध्ययरत छात्र सुचना रोकायाले कोरोना कहरपछिको पढाइ होला नहोला भन्ने अन्योलका बिच पढाइ सुरु भएपछि धेरै खुसी लागेको बताइन् । बिहानबाट पठन–पाठन सुरु हुँदा विद्यार्थी तोकिएको समयमा विद्यालयमा उपस्थित भएका थिए भने अभिभावकहरु ह्र्षित हुँदै विद्यालयसम्म पुगेका थिए ।

विद्यालयले विद्यार्थीका लागि बस्ने व्यवस्था पनि सुरक्षण विधिलाई अपनाएको हुँदा वातावरण शान्त रहेको थियो ।

सीता माध्यामिक विद्यालयका प्रधानाध्यापक जुनराज हमालले गाउँपालिकाको निर्णय अनुसार बिहानी सिफ्टबाट पठन–पाठन सुरु गरिएको जानकारी दिए ।

विद्यार्थीको चाप बढी भएको कारण सामाजिक दुरी कायम गर्न विद्यालयले बिहानी र दिउँसो गरि दुई सिफ्टमा पठन–पाठन गरेको हो । प्रअ हमालका अनुसार बिहान कक्षा छ देखि दश र दिउँसो कक्षा एक देखि पाँचसम्मको पठन–पाठन भएको छ ।

गत चैत्र ४ गतेसम्म विद्यालयमा पठन–पाठन भएको थियो । त्यसयता कोरोना संक्रमणको कारण विद्यालय बन्द भएकोमा पठन–पाठनको पहिलो दिनमै विद्यार्थीको संख्या उल्लेखनीय रहेको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा विद्यार्थीका साथै सबै शिक्षकहरुको पनि उपस्थिति भइसकेको छ ।

गत असार २५ गते खार्पुनाथ गाउँपालिकाले सबै विद्यालयमा पठन–पाठन सुरु गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार बन्दाबन्दी खुकुलो हुनु र कोरोना संक्रमणको त्रास कम हुँदै गएपछि सबैतिर बुझेर कार्यपालिकाले पठन–पाठन सुरु गर्ने निर्णय गरेको हो ।

उनले आइतबारबाट गाउँपालिका भित्रका १७ वटा बिद्यालय मध्य चार वटा मावि र १३ वटा आधारभुत विद्यालयमा पठन–पाठन भएको बताए । विद्यालयमा बाहिरका शिक्षक नआएको भएपनि स्थानीय शिक्षकहरुले सामाजिक दुरी कायम गर्दै र अन्य सुरक्षणका बिधि अपनाएर पठन–पाठन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

कोरोना कहरका बिच विद्यालय सञ्चालन गर्ने हुम्लाको पहिलो गाउँपालिका खार्पुनाथ भएको छ । यसअघि विद्यालयमा स्थापना भएको क्वारेन्टिनहरुको निमुर्लीकरण गरिएको थियो ।

जसका लागि सेनिटाईजिङ गर्ने, सफा गर्ने र झारपात पन्छाउने कार्य भएको थियो । यता नाम्खा गाउँपालिकाले साउन ११ गतेबाट पठन–पाठन सुरु गर्ने जनाएको छ भने अन्य सिमकोट सहित पाँच वटाले भने पठन पाठनका बारेमा केही निर्णय गर्न सकेको छैनन् ।

हुम्लामा नयाँ शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुन्छ । यस अघि भनाए अभियान सञ्चालन भइरहेको छ भने विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस्