स्कुल नखुलेपछि छोराछोरीसहित भारत

Avatar photo

Byएजुकेशन पाटी

२३ कार्तिक २०७७, आईतवार

नेपालगन्ज  । बाँकेको जमुनाह नाकामा एक किलोमिटरसम्म लाइन छ । यहाँ युवा मात्रै छैनन्, बालकदेखि वृद्धसम्म कोचाकोच उभिएका छन् । सबैलाई उस्तै हतारो देखिन्छ । सबैले साथमा झोला र पोकापोकी बोकेका छन् । उनीहरूको उदास नजर भने पारि भारतको बाटोतिर छ । उनीहरू कोरोना कहरले स्वदेशमा काम नपाएपछि भारत जान लागेका हुन् ।

बुधबार जमुनाह नाकामा भेटिएका सल्यान कपुरकोटमा १४ वर्षीय महेश केसीले आफू बुबासँग गुजरात जान लागेको बताए । कोरोनाका कारण स्कुल बन्द भएपछि भारत हिँडेको उनको भनाइ छ । उनी कक्षा ८ मा पढ्छन् । ‘घरमा कमाउने कोही छैनन्, त्यसैले बुबासँगै भारत जाँदै छु,’ उनले भने । उनी मात्रै होइन, धेरै अभिभावकले भारतमा काममा जाँदा छोराछोरी पनि सँगै लैजाने गरेका छन् । दैलेखका कृष्ण दमाई पनि १० वर्षीय छोरासहित भारत जाने लाइनमा थिए । ‘घरमा एक्लै बालबच्चा छोडेर जान गाह्रो भयो,’ उनले भने, ‘पढाइ छैन । छोराछोरी बिग्रेलान् भन्ने डर भइगयो ।’

जमुनाह नाकामा रोजगारीका लागि भारत जानेको लस्कर देखिनु नौलो होइन तर चाडबाडका बेला पनि भारत जानेको लस्कर देख्दा स्थानीय अचम्मित छन् । गाउँमा बेरोजगारी अनि गरिबी बढेपछि पढ्दै गरेका छोराछोरीसमेत लिएर भारतमा काम खोज्न जाने अभिभावक बढेको सिविन बाल हेल्पलाइन नेपालगन्जका प्रमुख सिद्धराज पनेरूले बताए । ‘कोरोनाले विद्यालय पूर्ण रूपमा खुलेका छैनन्,’ उनले भने, ‘आफूसँगै राख्न भन्दै अभिभावकले बालबालिका लगिरहेका छन् । यसले बालबालिकामाथि जोखिम झन् बढ्यो ।’ गाउँमा छाक टार्नै मुस्किल हुन थालेपछि पश्चिम पहाडका बासिन्दा कोरोना महामारीकै बीच रोजगारीको खोजीमा हुलका हुल भारत जान थालेका हुन् । जमुनाह नाकामा खटिएका प्रहरीलाई उनीहरूको व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई विष्णु गिरीका अनुसार बुधबार मात्र एक हजारभन्दा बढी नेपाली भारततर्फ लागेका छन् । तीन–चार दिनदेखि ५ हजारभन्दा बढी नेपाली भारत गएको उनले बताए । ‘दैनिक जानेमा ५० जना बालबालिका र किशोर पनि छन्,’ उनले भने, ‘भीड नियन्त्रणका लागि थप बल मगाउनुपर्ने अवस्था आइसक्यो ।’ खास गरेर लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्यूठान, रोल्पा, बाँके, बर्दिया र कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् ।

दसैंअघि भारतले आधार कार्ड भएकालाई मात्र नाकाबाट प्रवेश दिएको थियो तर अहिले भने आधार कार्ड नभएकालाई समेत प्रवेश गर्न दिइरहेको छ, जसले गर्दा नाकामा थामिनसक्नु भीड लागेको प्रहरी प्रशासनको दाबी छ । ‘भारतीय पक्षले अनौपचारिक रूपमा नाका खुला गरिसक्यो । त्यसको असर हामीलाई परिरहेको छ,’ सई गिरीले भने । भारतमा कोरोना महामारीले भयावह रूप लिइरहेकाले त्यसतर्फ नजान सर्वसाधारणलाई सम्झाउँदा उल्टै रिसाउने गरेको उनले सुनाए । ‘कामका लागि भारत जानेहरू एकसाथ ठूलो संख्यामा आउँछन् । सम्झाउन खोज्दा उल्टै झर्किन्छन्, गाली गर्छन्,’ उनले भने, ‘भारत जानेलाई रोक्न खोज्यो, भारतबाट फर्किनेहरू जबर्जस्ती प्रवेश गर्न खोज्छन् । अहिले नाकामा पुगिसकेकालाई घर फर्काउन सम्भव छैन ।’

उपचार, औषधि खरिद, बिरामी भेटघाट र मलामी जान भने दुवै देशका नागरिकलाई सीमामा आउजाउ गर्न नाका खुकुलो पारिएको प्रहरीले जनाएको छ । ‘बिरामीको पर्चा र वडा कार्यालयको सिफारिसका आधारमा दिनभरका लागि नाका वारिपारि आउजाउ गर्न दिइएको छ,’ उनले भने ।

रूपा गहतराजले कान्न्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्