ताप्लेजुङ । मंगलबार रातिको वर्षाका कारण आएको पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभुत विद्यालय भवन बगाएको छ । राति ११ बजे विद्यालयभन्दा करिब ५० मिटरमाथिबाट आएको पहिरोले विद्यालयको ४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर, १ सय जोर थालबटुको र भाँडाकुडा समेत बगाएको प्रधानाध्यापक प्रेम खतिवडाले जानकारी दिए ।

त्यस्तै, पहिराले स्थानीय फुलबहादुर तामाङको सुँगुर, बाख्राको खोर र भक्त लाबुङको किचन र सुँगुरको खोरसमेत बगाएको खतिवडाले बताए । त्यसै ठाउँमा घर भएका गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार गाउँ पसेको पहिरोले मकैबारीमा ठूलो क्षति पुगेको छ ।

उक्त गाउँमा गतवर्ष पनि पहिरो गएको थियो । पानी पर्नासाथ पहिरोको जोखिम हुने भएकाले स्थानीयलाई सुरक्षित गर्नेबारे गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष एभेङले बताए ।

सीताराम गुरागाईंले अन्नपूर्णपोस्टमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्