उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका १६ वटा विद्यालयमा आइतबारदेखि एकसाथ पठन–पाठन सुरु भएको छ । कोरोना संक्रमण त्रासमा कमी आएको तथा लक्षण भएको कुनै घटनाहरु नदेखिएपछि गाउँपालिकाको निर्णय अनुसार ती विद्यालयमा पठन–पाठन सुरु भएको हो ।

गाउँपालिकाका शिक्षा शाखामा अधिकृत खेमराज शाहीका अनुसार संघीय सरकार र प्रदेश सरकारको निर्देशन तथा गाउँपालिकाको निर्णय अनुसार नाम्खा गाउँपालिकाले सबै विद्यालयमा पठन–पाठन सुरु गरिएको बताए । कोरोना संक्रमणको त्रास कम हुनु र हालसम्म गाउँपालिकामा कुनै पनि कोरोना संक्रमितको संख्या नदेखिनु नै पठन–पाठन सुरु गर्नुको मुख्य आधार बनेको हो । अधिकृत शाहीका अनुसार यसअघि सबै विद्यालयमा सेनिटाईजिङ, निर्मलीकरण र सरसफाई गर्ने कार्य गरिएको थियो । पहिलो दिन विद्यालयमा विद्यार्थीको उपस्थिति उत्साहजनक रहेको बताउदै उनले अब पढाइ दु्रतगतिमा अगाडि बढ्ने बताए ।

गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले कोरोना संक्रमणको त्रास हुम्लामा नभए पनि देश काल र परिस्थितिले विद्यालय बन्द भएको भएपनि आइतबारबाट पठन–पाठन सुरु गरिएको बताए । एक हप्ता अगाडि नै गाउँ कार्य पालिकाको बैठकले विद्यालय खोल्ने निर्णय गरेको थियो ।

एक माध्यामिक विद्यालय र बाँकी आधारभूत विद्यालय रहेको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा शिक्षक उपस्थितिका लागि निर्देशन जारी भएको थियो । वडा नम्बर ६ लिमीको दुईवटा विद्यालयमा भने बन्दाबन्दीको अबस्थामा पनि पठन–पाठन भइरहेको थियो ।

अध्यक्ष लामाले आइतबार १४ वटा विद्यालयमा पठन–पाठन सुरु भएको बताए । लामो समयपछि पठन–पाठन सुरु हुदा एक हजार विद्यार्थीहरु लाभान्वित हुनेछन् । शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुने हुम्लामा पाठ्यपुस्तक भने यसअघि नै विद्यार्थीका हातमा पुगि सकेका छन् । हुम्ला खार्पुनाथ गाउँपालिकाले साउन पाँच गतेवाट पठन–पाठन सुरु गरेको थियो ।

प्रतिकृया दिनुहोस्