गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका १४ विद्यालय गाभिएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयलाई शैक्षिक शत्र २०७७ देखि लागु हुने गरी गाभिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ‘लकडाउनले विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएन, तर पनि हामीले पालिका भित्रका १२ वटा गाभ्ने, दुईवटा कक्षा घटाउने निर्णय गरेका छौँ ।’ उनले भने ।

पालिका भित्र विद्यार्थी संख्या थोरै भएका, शिक्षक धेरै रहेका, नजिक दुरी भएका विद्यालयलाई गाभिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । गाभिने विद्यालयमध्ये सबैभन्दा थोरै रामचन्द्र प्रावि बगुवामा तीन जना विद्यार्थी थिए, भने भवानी प्रावि बोर्लाङमा आठ जना थिए । सबैभन्दा धेरै शिवालय प्राविका ५७ जना विद्यार्थीलाई धु्रबज्योती प्रावि अश्राङमा गाभिएको छ । लक्ष्मीज्योती प्रावि बोर्लाङ र दुधकन्या प्रावि बगुवाको भने तह घटाइएको छ । ‘विद्यार्थी धेरै भएका विद्यालय पनि नजिक दुरीमा अर्को विद्यालय छन् भने गाभिएका छन् ।’ शिक्षा शाखाका लक्ष्मणबाबु आचार्यले भने । यो शैक्षिक सत्र कक्षा सुरु नभएपनि विद्यालय र दरबन्दी गाभिईसकेको उनले बताए । ‘शिक्षकहरुलाई पनि हामीले गाभिएको विद्यालयमा पठाईसकेकाले समस्या छैन ।’ उनले भने ।

गाउँपालिकाले तीन सदस्यीय समिति बनाएर गाभिनुपर्ने विद्यालयको सुची तयार गरेको थियो । गाभिएका विद्यालय मध्ये एक–दुई एउटा, एक–तीन तीनवटा, एक देखि पाँच आठ वटा र चार–पाँच दुईवटा छन् । गाउँपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र लगानी बढाउन विद्यालय गाभिएको प्रमुख प्रशाकिय अधिकृत कृष्ण थापा बताउँछन् । ‘विद्यार्थी संख्या थोरै हुँदा पनि विद्यालयको सबै पूर्वाधार बनाउनुपर्छ, लगानी धेरै हुन्छ, एकिकृत लगानी गर्ने योजनाले गाभिएको हो’ उनले भने । अब गाउँपालिका भित्र ३० वटा विद्यालय रहेका छन् ।

नरहरि सापकोटाले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्