कुनैबेला खस्कँदो शैक्षिक स्तर र भताभुङ्ग व्यवस्थापनले विद्यालय बन्द हुने अवस्थामा पुगिसकेको थियो । तर जब उहाँ प्रअ बनेर विद्यालयमा आउनुभयो तब विस्तारै विद्यालयले सुधारको सुरुवात गर्नथाल्यो । कच्ची भवन, जिर्ण पूर्वाधार, डेस्कबेन्चको अभाव, दिगो आर्थिक स्रोतको अभाव र समुदायको पनि सकारात्मक धारणा नभएको अवस्था थियो, प्रअ विगतलाई सम्झनुहुन्छ । लथालिङ्ग र भताभुङ्ग स्थिति थियो । तर उहाँले हरेस खानु भएन । निरन्तर विद्यालय सुधार कसरी गर्न सकिन्छ भनेर लागिरहनु भयो । कानुन व्यवसायी भए पनि उहाँ कहिल्यै पैरवीमा लाग्नु भएन । दत्तचित्त भएर विद्यालमा मात्रै केन्द्रीय हुनुभयो प्रअ भक्तमान महर्जन ।

उहाँकै मिहिनेत, असल नेतृत्व र सही व्यवस्थापनले विद्यालयको कायापलट सम्भव भयो भन्नुहुन्छ सहायक प्रअ श्री कुमार महर्जन । प्रअ बनेको २ वर्षपछि नै उहाँले विद्याललाई अंग्रेजीमाध्यममा लग्नुभयो । उहाँ सम्झनुहुन्छ अभिभावकको चाहना, बजारको आवश्यकता र शैक्षिक सुधारका लागि ०४८ सालमै हामीले विद्यालयलाई अंग्रेजीमाध्यममा लग्यौँ । यसका लागि उहाँले पुराना शिक्षकलाई अंग्रेजी भाषा शिक्षण र नयाँ युवा शिक्षक भर्ती गर्नुभयो । त्यसपछि विद्यालयले निरन्तर प्रगति गर्दै गयो । विगत २० वर्षदेखि अंग्रेजीमाध्यम पढाउँदै आएको र आफ्नो  गुणस्तरीय शिक्षाका कारण स्थानीयको मन जित्न सफल छ मनमैंजु काठमाडौँ अवस्थित मनमैंजु माध्यमिक विद्यालय ।

विद्यालयले एसएलसी परीक्षा दिएको पहिलो वर्षमा नै शतप्रतिशत नतिजा ल्याउन सफल भयो भने आजसम्म विद्यालयको औषत नतिजा नब्बेकै हाराहारीमा छ । विद्यालयको अन्य कक्षाकोठा औषत सिकाइ उपलब्धि पनि ६०% भन्दा माथि नै छ । महर्जनको कार्यकालमा विद्यालयले शैक्षिकसँगै भौतिक पनि सुधार गरेको छ । विद्यालयको हाल दुई छुट्टाछुट्टै आधुनिक भवनहरु छन् । छात्र र छात्राका लागि छुट्टाछुट्टै आधुनिक शौचालय, शैक्षिक सामाग्रीले सजिएका काक्षाकोठा, आकर्षक डेस्कबेन्च, सफा र सुन्दर विद्यालय परिषर, पर्याप्त पुस्तकसहितको पुस्तकालय, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, शुद्ध खानेपानीलगायतको व्यवस्था विद्यालयले छोटो समयमा नै गर्न सफल रह्यो । शिक्षक एवं उत्कृष्ट व्यवस्थापन, सामूहिक कार्य, सहि कार्य योजना र त्यसप्रतिको असिम लगावले शिक्षा सुधार हुँदोरहेछ ।

विद्यालयले ५ कक्षादेखि ९ सम्म कम्प्युटर कक्षा सञ्चालन गर्दै आइरहेको छ भने अडियो भिज्वल कक्षाको समेत व्यवस्था छ । ‘हामी व्यक्ति केन्द्रित पठनपाठनमा जोड दिन्छौँ ।’ प्रावि इन्चार्ज श्रीकाजी महर्जन भन्नुहुन्छ । हामी प्रत्येक विद्यार्थीको मनोभावना बुझेर पढाउँछौँ ।

विद्यालयले विषयगत, युनिटगत र साप्ताहिक परीक्षा लिने गरेको छ । यसरी नियमित निरन्तर परीक्षाले पनि नतिजा सुधारमा सहयोग गर्ने गरेको सहायक प्रअ महर्जन बताउनुहुन्छ । विद्यालयले क्यालेण्डर बनाएर त्यसैअनुसार क्रियाकलाप गर्दै आएको छ ।

विद्यालयले आफ्नै लगानीमा तिनपटक बृहत् विज्ञान प्रदर्शनी सम्पन्न गरिसकेको छ । विद्यालयले मूलद्वारमा नै विद्यार्थी, शिक्षक र अभिभावक आचारसंहिता राखेर त्यसको पूर्णपालना गराउँदै आएको छ । विद्यालयको प्रगतिको आधार हाम्रो टिमवर्क भएको बताउँदै सहायक प्रअ महर्जन– ‘हाम्रो टिमवर्क र अनुशासनका कारण नसकेर केही शिक्षकले सरुवा गराउनुभयो । हामी नियमित बिहान सबानौ बजेबाट पौने पाँचसम्म कक्षा लिन्छौँ ।’ विद्यालयले विद्यार्थी एवं शिक्षकहरुलाई विभिन्न शैक्षिक अवलोकन भ्रमणमा लग्ने गरेको छ । विद्यालयमा विभिन्न बालक्लब सञ्चालनमा छन् । जसले नियमित विद्यालय सरसफाई एवं अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

विद्यालयले गुणस्तरीय शिक्षालाई मूल उद्देश्य बनाएर सही कार्ययोजनासहित सामूहिक कार्य गरेकाले नै सुधार सम्भव भएको भन्दै विव्यस अध्यक्ष सनकमान महर्जनले शिक्षकले चाहे गुणस्तरीय शिक्षा सम्भव भनेर विद्यालयले प्रमाणित गरेको बताउनुभयो ।

२०७३ बैशाख १७ गते २२:३१मा प्रकाशित

प्रतिकृया दिनुहोस्