तुलसीपुर  । नेपाल संस्कृत विश्वविद्यालयले प्राध्यापकहरुलाई सम्बन्धित विद्यापीठमा पुग्नका लागि निर्देशन दिएको छ ।

सरकारले भदौ एक गतेदेखि भर्ना र परीक्षाका काम अघि बढाउन निर्देशन दिए लगत्तै बुधबार सम्पन्न विश्वविद्यालय पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बन्दाबन्दीका कारण पठन पाठनका कार्यहरु रोकिएका थिए । विश्वविद्यालयको शास्त्री(बि ए)को प्रथम, दोस्रो र तेस्रो वर्ष, आयुर्वेद स्नातक तह(बिए.एम. एस)को नवौ सेमिस्टरको परीक्षा बन्दाबन्दीका कारण रोकिएको थियो । रोकिएका परीक्षा सञ्चालनका कार्यहरु अघि बढाइने विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिनुभयो । कक्षा सञ्चालन पूर्व विद्यार्थी र प्राध्यापकहरुलाई अनलाइनबाट पढाई सञ्चालनका लागि आइ डि प्रदान गरिसकेकाले निर्देशिका तयार पारी थप व्यवस्थित गर्दै लैजान थालिएको छ ।

त्यसैगरी विश्वविद्यालयले प्रत्येक हप्ताको शुक्रबार विविध विषयमा अनलाइनमार्फत बहसका कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसै हप्ताको शुक्रबारदेखि परीक्षणका लागि न्याय विषयका बहस सञ्चालन गर्न थालिएको कुलसचिव माधव अधिकारीले जानकारी दिनुभयो ।

विश्वविद्यालयका सम्बन्धन प्राप्त शिक्षा शास्त्र ४, संस्कृततर्फ ५ र आङ्गिक क्याम्पस १४ वटा रहेका छन् । विश्वविद्यालयका २४ वटा क्याम्पसमा ३८ सय विद्यार्थी अध्ययरत रहेका छन् । विगतका वर्षमा आयुर्वेद स्नातक तह(बिए एम एसमा ) २१ जना विद्यार्थी मात्रै भर्नाको व्यवस्था रहेकोमा २ वर्षदेखि ४० जना विद्यार्थी भर्नाको व्यवस्था कायम गरिएको कुलसचिव अधिकारीले जानकारी दिनुभयो । विश्वविद्यालयका ६ नम्बर प्रदेशबाहेक अन्य सबै प्रदेशमा क्याम्पस रहेका छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्