काठमाडौं। नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्राडा. बुद्धबहादुर थापाले उच्च शिक्षामा राज्य बेखबर भएको बताएका छन् । स्वास्थ्य र शिक्षा राज्यले जिम्मा लिनुपर्नेमा जोड दिँदै उनले उच्च शिक्षा हेर्नका लागि छुट्टै डेस्क बनाउन माग गरे ।

बुधवार संघको ६० औ वार्षिकोत्सव तथा हीरक महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राडा थापाले शिक्षामा भइरहेको निजीकरण र व्यापारिकरणको विरोध गरे ।

बिहिवार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघको वार्षिकोत्सव र हीरक महोत्सवको उद्घाटन गर्ने थापाले जानकारी दिए ।

उच्च शिक्षाका लागि ल्याइएको विधेयक बीचमै अड्किएको प्रति आक्रोशित अध्यक्ष थापाले त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयलाई केन्द्रीय बनाई बाँकीलाई प्रदेश मातहत ल्याउनुपर्नेमा जोड दिए । साुदायिक क्याम्पसहरुलाई पनि प्रदेश विश्वविद्यालयमा गाभ्नुपर्ने उनको भनाइ थियो ।

धेरै विश्वविद्यालय आर्थिक रुपमा थेग्न नसकिने र आवश्यक पनि नरहेको भन्दै उनले आफन्तलाई पदाधिकारी बनाउन मात्रै च्याउ जसरी खोल्न नहुने जिकिर गरे । यसैगरी विश्वविद्यालयमा नियुक्तिको स्पष्ट खाका बनाउनुपर्नेमा उनको जोड थियो ।

बिहिवार कार्यक्रममा नेपालमा उच्च शिक्षा अवस्था, चुनौती र कार्यदिशा बिषयमा कार्यपत्र प्रस्तुत हुने र विशिष्ट व्यक्ति एवं पूर्व पदाधिकारीहरुलाई सम्मान गरिने संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्