काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुसँग आस्था राख्ने शिक्षक संगठनहरुको पनि मोर्चा बन्ने भएको छ । एक महिना भित्र वृहत कार्यक्रम गर्दै समाजवादी शिक्षक मोर्चा घोषणा गर्न लागिएको हो ।

बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को कार्यालय बागबजारमा बसेको मोर्चा आवद्ध दलनिकटका शिक्षक संगठनहरुको बैठकले एकमहिना भित्र समाजवादी शिक्षक मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले समाजवादी शिक्षा प्रणालीको विकासका लागि अन्य वाम तथा प्रगतिशील आस्था राख्ने घटकहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको युएण्टोका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । उनका अनसार बैठकले WFTU FISE को नेपाल समन्वय समिति गठन गर्ने र विश्व शिक्षक सम्मेलन नेपालमा गर्न प्रयास गर्ने निर्णय पनि गरेको छ ।

साथै, बैठकले विद्यालय शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघगायत अन्य शिक्षक कर्मचारीका संघसंगठनहरुसँग भएको सहमतिअनुरुप संशोधन गर्न संसदीय शिक्षा समितिमा महासंघमार्फत् पहल गर्ने निर्णयसमेत गरेको युएण्टोका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै, नेपाल शिक्षक महासंघ गठन प्रक्रियालाइ तिब्ररुपमा अगाडि बढाउने निर्णय समेत भएको छ ।

उक्त बैठकमा माओवादी केन्द्रनिकट युएण्टोका अध्यक्ष शंकर अधिकारी, एकीकृत समाजवादी पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हिक्मत बस्नेत, जनता समाजवादी पार्टीनिकट संघीय शिक्षक फोरमका अध्यक्ष हेमचन्द्र महतो, विप्लव नेतृत्वको नेकपानिकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लछिराम ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्