काठमाडौं । संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ । शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काएपछि उपसमितिले दफावार छलफल तीव्र रुपमा अगाडि बढाएको हो ।  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।

बुधबार बिहान ११ बजेदेखि बसेको शिक्षा उपसमितिको बैठकमा परिच्छेद ४ को दफा २८ देखि ३८ दफासम्ममा सहमति जुटेको समिति सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले जानकारी दिए ।

योसँगै विधेयकको दफा ३८ सम्म सहमति जुटेको हो । १६३ दफा रहेको विधेयकका ३८ दफामा सहमति जुटेको उनको भनाइ छ । बिहानदेखि परिच्छेद ४ का सबै दफामा छलफल भएर सहमति जुटेको चौधरीले बताए । थप दफामा छलफल गर्न भोली दिउँसो १२ बजेका लागि उपसमितिको बैठक बोलाईएको छ । उपसमितिलाई ३५ दिनको समय दिइएको छ ।

उपसमितिले जुटाएको सहमति भने सार्वजनिक गरिएको छैन । यद्यपि, ईसीडी दुई वर्षको बनाउने, जिल्ला शिक्षा कार्यालय नरहने, शिक्षा विभाग नरहने लगायतको सहमति जुटेको छ । परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धि दफामा पनि उपसमितिमा सहमति जुटेको छ । तर, के सहमति भयो खुलाइएको छैन ।

उपसमितिले परिभाषा, प्रस्तावना, निजी विद्यालयको विषयमा पछि छलफल गर्ने बताएको छ । सहमति हुन नसकेका कतिपय विषय शीर्ष राजनीतिक नेतृत्वसँग पनि छलफल गरेर टुंगो लगाउने तयारी छ ।

शिक्षा समितिले विधेयकमाथि सहमति जुटाउन नेकपा एमाले सांसद् छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले फास्ट ट्र्याकमा छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ । विवादित विषयमा उच्च तहमा सहमति जुटाउने भन्दै ति बाहेकका अन्य विषयमा सहमति जुटाउँदै आएको हो ।

प्रतिकृया दिनुहोस्