रुकुम पश्चिम । त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा रहेको सिम्रुतु सामुदायिक क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित व्यक्ति सोही क्याम्पसका विद्यार्थी समेत रहेको खुलेको छ ।

गत माघ २३ गते सम्पन्न सञ्चालक समितिको निर्वाचनबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का शिक्षाशास्त्र संकायको चौथो वर्षको विद्यार्थी भएको उनले भरेको परीक्षा फारमबाट खुलेको हो । यस विषयमा क्याम्पस प्रमुख सूर्यविक्रम खड्काले चन्द्रबहादुर खड्का विद्यार्थी रहेको स्वीकार गर्दै अध्यक्ष खड्का क्याम्पस सभाको सदस्य भएकाले सञ्चालन समितिमा रहन मिल्ने दाबी गरे ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सामुदायिक क्याम्पसका रुपमा रहेको सिम्रुतु क्याम्पसमा स्नातक तहसम्मको पठनपाठन भइरहेको छ भने यो वर्षदेखि स्नातकोत्तर तहको पनि पठनपाठन सुरु गरिएको छ ।

कुनैपनि क्याम्पसमा अध्ययन गरिरहेको विद्यार्थी यसरी सोही क्याम्पसको सञ्चालक समितिको कुनै पनि पदमा बस्न नमिल्ने त्रिभुवन विश्वविद्यालयका डिन डा. चित्रबहादुर बुढाथोकीले बताए । यसरी कानुन विपरीत चन्द्रबहादुर खड्कालाई अध्यक्षमा निर्वाचित गरिएकोमा पूर्वस्ववियु सभापति जीवन पुनमगरले आपत्ति जनाए। उनले भने, ‘यसरी विद्यार्थी नै सञ्चालक समितिको अध्यक्ष हुने गैरकानुनी काम गरिनु राम्रो होइन । यसकारण सञ्चालक समितिको सम्पूर्ण निर्वाचन प्रक्रिया नै रद्द गरिनुपर्छ ।’

यस विषयमा जिज्ञासा राख्दा अध्यक्ष खड्काले पनि आफू विद्यार्थी भएको स्वीकार गर्दै क्याम्पसको आजीवन सदस्य पनि भएकाले क्याम्पस सभाको सदस्य भएको र त्यसै आधारमा क्याम्पसको विधानअनुसार अध्यक्षमा निर्वाचित भएको बताए । उनले भने, ‘मसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका टोपबहादुर चन्द पनि स्नातकोत्तर तहको विद्यार्थी हो । तर उहाँ पनि क्यास्पस सभाको सदस्य भएका कारण अध्यक्षमा उठ्नुभएको थियो ।’

महेश केसीले कान्तिपुरमा खबर लेखेका छन्।

प्रतिकृया दिनुहोस्