अब त्रिभुवन विश्वविद्यालय पेपरलेस

Avatar photo

Byएजुकेशन पाटी

२० आश्विन २०७७, मंगलवार

काठमाडौँ । प्रविधिले सम्पन्न अहिलेको समयमा पनि नेपालको ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयका आन्तरिक प्रशासनिक तथा शैक्षिक सम्पूर्ण क्रियाकलापहरु हातलेनै गर्नु पर्ने अवस्था छ। जसका कारण एक दिनमा हुने कामलाई महिनौ कुर्नु पर्ने अवस्था अझै कायम छ।

त्यही भएर अब विश्वविद्यालयलाई पेपरलेस बनाउन उपकुलपति प्राडा. धर्मकान्त बाँसकोटाले प्रधानमन्त्री एवं विश्वविद्यालयको कुलपति केपी शर्मा ओली समक्ष प्रस्ताव लगे। कुलपतिले प्रस्ताव स्वीकार गरी विश्वविद्यालयालाई पेपरलेस बनाउन प्रधानमन्त्री कार्यालयमा प्रयोग हुने अफिस अटोमेट्स सफ्टवेयर जडान गरिदिने प्रस्ताव स्वीकृत भएको छ। अब अफिस अटोमेटस सफ्टवेयरको माध्यमबाट विश्वविद्यालयका आन्तरिक प्रशासनिक क्रियाकलापलाई अटोमेशन गर्ने काम अघि बढिरहेको विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भूसालले बताए।

‘विश्वविद्यालय भित्रका आन्तरिक कामहरु अब एक कोठाबाट अर्को कोठामा फाइल बोकेर तोक लागाउनु पर्ने हुँदैन,’ शिक्षाध्यक्ष भूसालले  भने ‘अफिस अटोमेटसन सफ्टवेयर जडानको काम अघि बढेको छ। केहि दिनमा पुरा भएपछि अब विश्वविद्यालयभित्रका फाइल, टिप्पणी उठान, तोक लगाउनु लगाएतका सबै काम त्यही सफ्टवेयर बाटै हुन्छ।’ उनले थपे ‘अब विश्वविद्यालयका एक सय ४७ निकायहरु अटोमेसनमा जान्छन्।’

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शैक्षिक प्रशासनिक एवम् अनुसन्धान मुलक गतिबिधिका बारेमा त्रिविले उपलब्ध गराएको आधिकारिक इमेल मार्फत पत्रचार गरी सवैलाई विद्युतीय माध्यममा आवद्ध गराउने कामको शुरुवात भइसकेको छ। विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा प्रविधीको पहुँचलाई विस्तार गर्दै सवल, समक्ष बनाउन विश्वविद्यालय अनुदान अयोगको पहलमा प्राप्त रकमको पहिलो किस्ता सम्पूर्ण शैक्षिक निकायहरुलाई उपलब्ध गराइएको छ।

उनले केन्द्रीय पुस्तकालयमा रहेको अनलाइन सामग्रीहरु विश्वविद्यालयका विद्यार्थी,शिक्षक र कर्मचारीहरुले आधिकारिक इमेलको प्रयोगगरी उपयोग गर्नसक्ने व्यवस्था गरिएको जनाए। ‘माइक्रोसफ्टले निःशुल्क उपलब्ध गराएको ५ लाख इमेल आइडि त्रिविले विद्यार्थी, शिक्षक तथा सम्बन्धित ब्यक्ति निकायलाई उपलब्ध गराइसको छ,’ भूसालले भने ‘यही इमेलबाट आइडि बनाइ विश्वविद्यालयको पुस्तकालयको अनलाइनमा लगईन गरेपछि विद्यार्थीले घरमै बसेर अन्तराष्ट्रिय पुस्तक, जनरललगाएतका समाग्री अध्ययन गर्न सक्छन्।’ उनले थपे ‘यो काम आउँदो साता पुरा हुन्छ।’

त्रिभुवन विश्वविद्यालयले कोभिड १९ ले स्वास्थ्य,शिक्षा,अर्थतन्त्र एवंम समाजको विविध विधामा पारेको असरहरुको बारेमा अनुसन्धानमुलक जर्नल प्रकाशित गरेको छ। त्रिवि सभाको बैठक लगत्तै आयोजित जर्नल विमोचन कार्यक्रमा शिक्षा विज्ञान तथा प्रविधीमन्त्री एवंम त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले उक्त जर्नलको अनलाइन प्रविधीको माध्यमवाट बिमोचन गरे। त्रिवि अनुसन्धान केन्द्रद्धारा प्रकाशित उक्त जर्नलमा कोभिड १९ का बारेका अनुसन्धान मुलक सामग्रीहरु उपलब्ध छन्। यो सामाग्री विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालाई निकै उपयोगि हुने विश्वविद्यालयको दाबी छ।

२०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले सरकारलाई आधिकारिक पत्राचार गर्दै विश्वविद्यालयको भौतिक सम्पत्ति,उपकरण,विज्ञ जनशक्तिलाई कोभिड १९ विरुद्धको प्रयोजनका लागी उपयोग गर्न सकिने संस्थागत जानकारी गराइ सकेका छन्।

त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणको चुनौतिपूर्ण परिस्थितिमा समेत शैक्षिक गतिविधीलाई जिवन्त राख्दै आफुलाई समयानुकुल परिवर्तन गर्न अध्ययन अध्यापनको वैकल्पिक विधि आत्मसात गरेको छ। सामाजिक दुरीको प्रयाग गरी घरबाटै कक्षा लिने परिस्थितिको निर्माण गरी अनलाइन कक्षालाई व्यवस्थित गर्न एनआरइएन भन्ने संस्थासँग सहकार्यमा जुम प्रविधिको निशुल्क १७५ लाइसेन्स तत्काल उपलब्ध गराई शिक्षण सिकाई प्रारम्भ गरिएको उनले दाबी गरे।

‘आधुनिक प्रविधिको माध्यमबाट शिक्षण सिकाई प्रक्रियामा जान नितीगत निर्णय गर्नुका साथै सूचना प्रविधीको पहुँचलाई सम्पूर्ण क्याम्पस एवंम निकायहरुमा पुर्यााउन केन्द्रीय स्तरमा सूचना प्रविधि नवप्रवर्तन केन्द्रको स्थापना भएको छ,’ शिक्षाध्यक्ष भूसालले भने ‘विश्वविद्यालयको सम्पूर्ण निकायहरुलाई एउटै डोमेनमा व्यवस्थित गर्न सबै १३० भन्दा वढि निकायहरुको सवडोमेन निर्माण गर्ने कामले सफलता प्राप्त गरिसकेको छ। ’ विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रविधीमैत्री बनाई विद्युतीय माध्याममा संलग्न गर्न ५ हजार शिक्षक र ५ सय भन्दा बढी कर्मचारीहरुलाई अनलाइन कक्षा संञ्चालनको तालिम उपलब्ध गराएको छ।

स्कुल अफ मेनेज्मेन्ट र श्रम तथा रोजगार मन्त्रालयको संयुक्त पहलमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारिता र संभावना विषयमा अनुसन्धान भएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, संकट व्यवस्थापन कार्यक्रम, युएनडीपी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा स्थानीय निकायका ८० निकायका प्रमुख, उपप्रमुखलाई संकटकालमा नेतृत्व र निर्णय क्षमता विकास सम्बन्धी तालिम समेत सम्पन्न गरिसकेको छ।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्