गुल्मी। खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ऋषिराम कँडेलले ३.३७ जीपीए ल्याएर उतीर्ण गरेका छन् । जन्मदै अपांगता भएका ऋषिरामका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू हातखुट्टा चल्दैनन् ।

ऋषिराम ‘क’ वर्गका फरक शारीरिक क्षमता भएका व्यक्ति हुन् । उनले दैनिक कामकाजका लागि अरुको सहारा लिनुपर्छ । मात्र एक खुट्टाका दुई औँलाले लेखेरै उनी एसईई उत्तीर्ण भएका हुन् । श्रृङ्गा जनता माविमा अध्ययनरत कँडेलले रुरुक्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट एईई दिएका थिए ।

खुट्टाका दुई औंलाको माध्यमबाट उनले लेख्ने र मोबाइल तथा ल्यापटप चलाउँछन् । एसईई उतीर्ण गरेपछि उनलाई विद्यालयले सम्मान समेत गरेको छ ।

सम्मान कार्यक्रममा कँडेलले यो सम्मानले पढाइलाई निरन्तरता दिन प्रेरणा दिने बताए । छत्रकोट गाउँपालिकाले उनलाई जिल्लामै बसेर पढेमा छात्रवृत्ति दिने बताएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गुल्मीबाट ४ हजार ७१ जना सहभागी भएकोमा १ हजार ४०३ जना उतीर्ण भएका छन् ।

प्रतिकृया दिनुहोस्