काठमाडौं। रिलायन्स साहित्य समाजद्वारा आयोजित ‘चौधौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता’मा महेश संस्कृत गुरुकुल देवघाटका छात्र दिग्विजय लामिछाने प्रथम भएका छन् ।

प्रतियोगितामा टाइम लाइन स्कुल जोरपाटीकी छात्रा आर्या कार्की द्वितीय स्थान हासिल गर्दा रिपुमर्दनी सैनिक माविका छात्र सुतृष्ण पौडेलले तृतीय स्थान हासिल गरेका छन् ।

यसैगरी संस्कृत मावि रानीपोखरी काठमाडौंका छात्र विजय तिमल्सिना र कन्तिभैरव गुरुकुल उत्तरवाहिनीका छात्र गणेश पराजुलीले प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । शनिबार आयोजित भव्य समारोहकाबीच विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा देशभरका २४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । मंसिर २९ गते पहिलो चरणअन्तर्गत सहभागीहरुमध्येबाट उत्कृष्ट ५ वक्ता छनोट गरिएको थियो भने ३० गते शनिवार उत्कृष्ट पाँच वक्ताहरूको प्रतिस्पर्धा गराई विजेताको अन्तिम टुंगो लगाइएको थियो ।

प्रतियोगितामा विद्यार्थीहरुले ‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा आफ्नो वक्तृत्वकला प्रदर्शन गरेका थिए । प्रतियोगितामा देशभरका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरु एउटा विद्यालयबाट एकजनामात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यसअघिका १३ औँ संस्करणसम्म उपत्यकाव्यापी प्रतियोगिता आयोजना गरेको रिलायन्स साहित्य समाजले यसपटक भने राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस्